प्रस, जनकपुरधाम, १० भदौ/
खेलकूद विकास सम्बन्धमा बनेको विधेयक मधेस प्रदेशसभामा पेश हुने अन्तिम तयारीमा पुगेको छ । प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी सोमवार पारित गरेको छ ।

समितिले उक्त विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय पनि गरेको छ । समितिकी सभापति रूपा यादवको अध्यक्षतामा सोमवार जनकपुरधाममा उक्त विधेयकमाथि दफावार छलफल भएको थियो ।

पारित विधेयकमा प्रदेश खेलकूद परिषद् गठन, जिल्ला खेलकूद विकास समिति गठन, खेलाडीको वृत्ति विकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकूद प्रशिक्षण प्रतिष्ठान, खेलकूद प्रतियोगितालगायत विषय समावेश गरिएका छन् ।

समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन गर्नेगरी कानूनी व्यवस्था प्रस्ताव गरिएको बताए । समितिको बैठकमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, कुँवरकान्त झा, अञ्जना पण्डित र किशोरीदेवीले छलफलमा भाग लिएका थिए । उक्त विधेयक गत वर्ष नै छलफलका लागि समितिमा पठाइएको थियो । यसभन्दा पहिले विभिन्न कारणले निकास नपाएका विधेयकहरूलाई वर्तमान नेतृत्वले अध्ययन गर्ने र अगाडि बढाउने गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here