नितेश कर्ण, वीरगंज, ९ भदौ/
भारतको बिहार, समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना हुँदा ४७ जना यात्री घाइते भएका छन् ।

बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्पm जाँदै गरेको ना.७ख ६४४६ नम्बरको बस आइतवार बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको थियो । बसलाई शनिवार राति पछाडिबाट एउटा ट्रकले ठक्कर दिंदा अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा ४७ जना यात्री घाइते भएकामा पाँचजनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरूको मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरूमा उपचार भइरहेको छ ।

बसमा २५ महिला र ६ बालबालिकासहित ४७ जना तीर्थयात्री सवार थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुबोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् । ना.७ख ६४४६ नम्बरको देवदर्शनको सो बसलाई ट्रकले पछाडिबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उनले बताए । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए ।

बस दुर्घटनामा परेका सबै बारागढी गाउँँपालिका–३ मूर्तिपलियाका रहेको जानकारी पाइएको प्रनाउ सापकोटाले बताए ।

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिवार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरूले गाउँमा सामूहिक पूजापाठसमेत गरेका बताइएको छ । सो बस बारागढी–१ का राजाराम साहको रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here