प्रस, पोखरिया, ३१ साउन/
क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको आर्थिक सहयोगमा आसमान नेपालद्वारा सञ्चालित ‘बालिकालाई पछाडि नपारौं’ परियोजना अन्तर्गत पर्सा जिल्लाको जीराभवानी गाउँपालिकाका पाँचवटै वडामा बाख्रा तथा बङ्गुरपालन तालीम दिइँदैछ ।

आसमान नेपालले पर्सा जिल्लाका ठोरी र जीराभवानी गाउँपालिकामा बालिकालाई पछाडि नपारौं परियोजना सञ्चालन गर्दै आएको छ । विद्यालय नगएका १० देखि १८ वर्ष उमेर समूहका बालिकाहरूलाई लक्षित गरेर दुई वर्षदेखि परियोजना सञ्चालन गर्दै आएको पालिका संयोजक धर्मेन्द्र चौरसियाले बताए । यो अवधिमा दुई पालिकामा २७८ जना बालिकालाई नौ महीने अनौपचारिक शिक्षा प्रदान गरिएको थियो । सोही बालिकामध्ये १४३ जना विद्यालय भर्ना भएका र विद्यालय भर्ना नभएका १३५ जनाको आर्थिक उपार्जनको लागि बाख्रा तथा बङ्गुरपालन तालीम प्रदान गरिएको संयोजक चौरसियाले बताए ।

उनले पहिलो चरणमा जीराभवानी गापाको वडा नं १ गम्हरिया, २ सेढवा, ३ परसवा, ४ सुपौली र ५ सखुवनियाका बालिकाहरूलाई बाख्रा, बङ्गुरपालन तालीम दिन लागेको बताए । यी वडामध्ये चारवटा वडामा प्रशिक्षक शिवचन्द्र ठाकुरले बाख्रा, बङ्गुरपालन, खोर व्यवस्थापन, उनीहरूको जात र लाग्ने रोगबारेमा जानकारी गराएका थिए । जीराभवानीकै वडा नं २ सेढवामा भने साउन ३२ गतेदेखि भदौ २ गतेसम्म तीन दिने तालीम आयोजना हुने संयोजक चौरसियाले बताएका छन् ।

यस अघि गत वर्ष ठोरी गापाका ५५ बालिकामध्ये ११ जनालाई विद्यालय भर्ना गरिएको र ४४ जनालाई सिलाइकटाइ, पसल, बाख्रापालनलगायतको तालीम दिएर व्यवसाय सञ्चालन गराएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here