प्रस, जनकपुर, २४ साउन/

मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम, धनुषाले आव २०८१/८२ देखि मधेस प्रदेशमा औद्योगिक प्रशिक्षार्थी तालीम  सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (ऋत्भ्ख्त्) अन्तर्गतका शिक्षालयमार्फत १४० जना बेरोजगारी युवाहरूलाई २४ महीने प्रि–डिप्लोमा तहको अप्रेन्टिशिप तालीम सञ्चालन गर्न मन्त्रालयले चारवटा शिक्षालय छनोट गरेको मन्त्रालयका शाखा अधिकृत लक्ष्मण रामले बताए ।

चालू आवमा निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिवास, महोत्तरीले होटल व्यवस्थापन विषयमा ४० जना, विपी स्मृति बहुप्राविधिक शिक्षालय, सपही, धनुषाले इलेक्ट्रिकल इन्जिनीयरिङ विषयमा ३० जना, दीपनारायण आदर्श नमूना मावि, औराहा, पंचगावाँ, पर्साले सूचना प्रविधि विषयमा २० जना तथा प्रारम्भिक बालविकास सहजकर्ता विषयमा २० जना प्रसौनी बहुप्राविधिक शिक्षालय प्रसौनी, बाराले इलेक्ट्रिकल इन्जिनीयरिङमा  ३० जनालाई तालीम प्रदान गर्ने योजना रहेको शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त प्रदेश सचिव महेन्द्र महतोले बताए ।

औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमको २४ महीनाको अवधिमध्ये प्रशिक्षार्थीहरूले ४.५ महीना सम्बन्धित शिक्षालय र १९.५ महीना सम्बन्धित उद्योगमैं सीप सिक्ने भएकाले प्रशिक्षार्थीहरूको सिकाइ उपलब्धि राम्रो हुने र सिकाइको क्रममैं प्रशिक्षार्थीहरूले न्यूनतम ज्यालासमेत पाउने भएकोले अप्रेन्टिशिप कार्यक्रम बेरोजगारी युवाहरूका लागि वरदान साबित हुने इन्स्योर परियोजना, मधेस प्रदेशका प्राविधिक संयोजक भरत सहनीले बताए । शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत प्रदीपकुमार साहले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमको अभिमुखीकरणमा स्वागत शाखा अधिकृत लक्ष्मण रामले गरेका थिए भने सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण इन्स्योर परियोजना, कोशी प्रदेशका प्रबन्धक सञ्जीवकुमार राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here