प्रस, पोखरिया, २१ साउन/
कालिकामाई गाउँपालिका कार्यालयमा करारमा काम गरिरहेका १० जनालाई गत वर्ष हटाइएकामा सोमवार उनीहरूले प्रदर्शन गरेका छन् ।
करारमा कार्यरत १० जनामध्ये एकजनाको मृत्यु भइसकेको र एकजना अन्य पालिकामा सरुवा भएको र बाँकी आठजनाले आज धर्ना दिएका हुन् । धर्ना दिने आठैजना स्वास्थ्य शाखामा कार्यरत करारका कर्मचारी हुन् । उनीहरूलाई पालिकाले आवश्यकता नभएको भनेर गत वर्ष करार थप गरेको थिएन ।
सोही बखतदेखि आन्दोलित स्वास्थ्यकर्मीहरूले आज पालिकाको गेटमा धर्ना दिएका थिए । उनीहरूले पालिकामा तालाबन्दी गर्दा प्रहरीले बल प्रयोग गरेर तितरबितर गरेको थियो । करार कर्मचारीका नेतृत्वकर्ता दीपक यादवले पालिकाले आवश्यकता नभएको भनेर आफूहरूको करार अवधि नथपेको तर अन्यलाई भर्ना गरेकोमा आपत्ति जनाए ।
पालिका अध्यक्ष्F वशिष्ठकुमार कलवारले आवश्यकता नभएको कारण १० जनाको करार अवधि थप नगरेको र पछि अन्य शाखामा कर्मचारी आवश्यक भएको कारण भर्ना गरिएको बताए ।
करार अवधि सकिएपछि थप गर्ने, नगर्ने पालिकामा निहित हुने कुरामा कर्मचारीहरूले बलमिचाइँ गर्नु जायज नभएको गापाध्यक्ष कलवारले बताए ।