प्रस, सेढवा, ११ साउन/
तीन/ चार दिनदेखि बढेको प्रचण्ड घामसँगै अत्यधिक गर्मीका कारण ग्रामीण जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहानैदेखि हुने अत्यधिक गर्मी तथा हावा नचलेका कारण जनजीवन प्रभावित भएको हो । गर्मीका कारण किसानहरूलाई खेतबारीमा काम गर्न कठिनाइ भएको छ भने दैनिक ज्यालादारीको काम गर्ने ज्यामीहरूले पनि समस्या भोग्नुपरेको छ । अत्यधिक गर्मीका कारण ग्रामीण भेगमा १० बजेपछि बाटोघाटो सुनसान हुने गरेका छन् भने गर्मीबाट जोगिनका लागि बगैंचा, चौतारा, मठमन्दिरमा सर्वसाधारणको उपस्थिति बाक्लो हुने गरेको छ ।
जीराभवानी गाउँपालिका–२ सेढवाका अमिरका महतोले गर्मीका कारण खेतबारीमा समेत काम गर्ने अवस्था नरहेको बताए । बिहान–बेलुका केही काम गर्न सकिए पनि दिउँसो अत्यधिक गर्मीका कारण काम गर्नै नसकिएको महतोले बताए । अत्यधिक गर्मीका कारण विशेषगरी ससाना बालबालिका तथा वृद्धलाई निकै समस्या भएको स्थानीयले बताएका छन् । घरमा पङ्खा चलाए पनि गर्मीका कारण पसिनाले निथ्रुक्कै भिज्ने गरेको स्थानीय बताउँछन् । गर्मी बढेकै बखत जिल्लाका सामुदायिक विद्यालयहरूले बिहानी कक्षा बन्द गरेर दिवाकालीन कक्षा सञ्चालन गरेका छन् । जसले गर्दा अहिले विद्यार्थीहरूलाई पनि धेरै समस्या भएको छ । बिहानी कक्षामा केही राहत थियो तर दिवाकालीन कक्षा बिहान १० देखि अपराह्न ४ बजेसम्म गरिएपछि पङ्खा भएकालाई त समस्या छ भने नभएकाहरूको अवस्था स्वतः आकलन गर्न सकिन्छ ।
अत्यधिक गर्मीका कारण यस क्षेत्रमा विभिन्न किसिमका रोगका प्रकोप देखा परेका छन् । गर्मीका कारण ज्वरो, टाउको दुख्ने, छालाको सङ्क्रमण तथा आँखा पाक्ने जस्ता रोगको प्रकोप देखिएका छन् ।
पटेर्वासुगौली गापा स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवले बर्खापछि अत्यधिक गर्मी हँुदा यस्ता रोग देखा पर्नु स्वाभाविक रहेको बताए । यी समस्याबाट बच्न शीतलमा बस्ने, घाममा नजाने, पानी धेरै खाने र स्वास्थ्यमा समस्या भए नजीकको स्वास्थ्य चौकीमा गई चिकित्सकलाई देखाउन उनले सुझाएका छन् ।