प्रस, परवानीपुर, ९ साउन/
वीरगंज–२१ ताजपुरमा सञ्चालित साकेट टेक्सटाइल्स प्रालिमा मजदूरहरूले धर्ना जारी राखेका छन् । करीब डेढ महीनादेखि २९ जना मजदूरले धर्ना दिंदै आन्दोलन जारी राखेका हुन् ।
गत जेठ १६ गते उद्योग बन्दको मौखिक जानकारी दिंदै व्यवस्थापन पक्षले २९ जना मजदूरलाई कामबाट निकालेपछि उनीहरू रोजगार सुनिश्चितताको माग गर्दै हडतालमा उत्रेका हुन् । जबसम्म आफूहरूलाई पुनर्बहाली गरिंदैन, तबसम्म आन्दोलन फिर्ता नलिने अडानमा मजदूरहरू छन् ।
उद्योग व्यवस्थापन पक्षले आर्थिक मन्दीको कारण मजदूर कटौती गरेको जनाएको छ । उद्योगका प्रशासन प्रमुख सञ्जय पटेलले आर्थिक मन्दी र केही मजदूरको आचरण ठीक नभएकाले गेट रोक्का गरिएको जनाएका छन् । “हामीले सातजना मजदूरलाई काम गर्न रोकेका छौं, सोको विरुद्धमा उद्योगका सबै मजदूर आन्दोलनमा उत्रेर उद्योग सञ्चालनमा समस्या सृजना गरेका छन्,” उनले बताए ।
उद्योगमा कार्यरत अपरेटर र हेल्परलाई कामबाट हटाउन उद्योगले महीनाको चार/पाँच दिनको तलबभत्ता काट्दै आएको र पछि कामबाट हटाएकोले विरोधका कार्यक्रम अघि सारेको मजदूरहरू बताउँछन् । मजदूरहरूले धर्नाबारे स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइसकेको बताएका छन् ।
कपडा उत्पादन गर्ने सो उद्योगले बाहिरबाट कामदार ल्याइ उद्योग सञ्चालन गरिरहेको धर्नामा बसेका मजदूरहरूले बताएका छन् ।