प्रस, सिम्रौनगढ, ५ साउन/
सीमावर्ती भारतीय सुरक्षाकर्मीले ७८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
नेपालको आमवा कोरैया गाउँबाट भारत प्रवेश गरेका दुईजनालाई नियन्त्रणमा लिएर उनीहरूले बोकेका सामान चेकजाँच गर्दा ७८ किलो गाँजा बरामद भएको थियो । भारतीय नागरिकद्वय प्रमोद महतो र विकेश महतोले पाँचवटा कार्टुनमा सो परिमाणमा गाँजा लैजाने प्रयत्न गर्दा महुआवा थाना र एसएसबीको टोलीले पक्राउ गरेका थिए ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय, बाराले २६ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले हेटौंडाबाट वीरगंजतर्फ आउँदै गरेको बा.४च ५२७ नम्बरको कारलाई पथलैया प्रहरी चौकीले चेकजाँच गर्दा कारको सिटमुनिबाट सो परिमाणमा गाँजा बरामद भएको बताए । उनले कार चालक भारतीय नागरिक दीपकचन्द्र देव र कारमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–२ बस्ने अञ्जन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिएका दुवैजनालाई इलाका प्रहरी कार्यालय, सिमराबाट लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।