प्रस, वीरगंज, ३ साउन/
एक हप्ताअगाडि चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाएपछि पर्साका ग्रामीण क्षेत्रबाट चल्ने अधिकांश बससेवा बन्द भएका छन्।
दुईवटा बस दुर्घटनामा परेपछि पाँच दर्जन व्यक्ति बेपत्ता भएका छन्। सोही डरले अहिले पर्साका गाउँबाट काठमाडौं जाने बसहरूमा यात्रुहरू नपाएछि बससेवा बन्द भएको बस व्यवसायीहरूले बताएका छन्।
लङ्गडीका टिकट काउन्टर इन्चार्ज उमेश साहका अनुुसार अदालत वा उपचारलगायत अति आवश्यक कामबाहेक गाउँका कोही पनि काठमाडौं जान मानिरहेका छैनन्।
भिस्वा, जानकीटोला, लङ्गडी, पोखरिया, बहुर्वाभाटा भएर एक दर्जनभन्दा बढी बस काठमाडौंका लागि जाने गर्छन्। तर अहिले एउटा बसको लागि यात्रु खोज्न धौधौ परिरहेको साहको भनाइ छ। घटना अघि सबै बसमा यात्रु कोचाकोच हुन्थ्यो।
पहिरोले बस बगाउने डरले अहिले कोही पनि काठमाडौं जान मानिरहेका छैनन्, बस व्यवसायीहरूको भनाइ छ। भिस्वामा विगत छ दिनदेखि चारवटा बस रोकिएका छन्। यात्रु नपाएपछि बस रोकिएको व्यवसायीहरूको भनाइ छ।
त्यत्तिमात्र हैन सयौंको सङ्ख्यामा वीरगंजबाट काठमाडौं वा काठमाडौंबाट वीरगंज आउने सयौं बस सञ्चालनमा रहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको वीरगंजका काउन्टर इन्चार्ज अजयले बताए।
अजयका अनुसार पहिला अधिकांश बस दैनिक भरिभराउ जान्थे।
अहिले यात्रुहरू नपाएर खाली बस दैनिक काठमाडौं पठाउनुपरेको उनले बताए। नियम अनुसार बससेवालाई रोक्न सकिंदैन। साहुलाई घाटा भएपनि बसहरू पठाउन बाध्य छौं, उनको भनाइ थियो।
बसमा यात्रु घटेपछि हवाई यात्रा गर्नेहरूको भीड लागेको छ। अहिले हवाई सेवाबाट काठमाडौं आउने–जानेको लर्को लागेको छ। हवाई सेवामा दुई दिनको टिकट बूकिङ चलिरहेको छ।
अहिले दशैं लागेजस्तै अग्रिम भुक्तानी गरी टिकट लिनेको भीड बढेको देखिन्छ। सबै एयरलायन्सले दैनिक उडानभन्दा बडी जहाज सिमरामा पठाउने गरेका छन्। यात्रुको चाप बढेपछि सिमरा आउने जहाजहरू ठीक समयमा आउने जाने गरेका देखिन्छन्।