राधेश्याम पटेल, परवानीपुर, १ साउन/
वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक मलेशियामा १६२ जना नेपाली कामदार अलपत्र परेका छन् । मलेशियाको केएलसिसी सेन्टर शहरमा उनीहरू एउटा गोदाममा खाना, पानी बेगर बसिरहेका बताइएको छ । चर्पीमा समेत पानी छैन । पानी किनेर शौच गर्नुपर्ने बाध्यता छ । तीन महीनादेखि शर्त अनुसारका काम नपाएर नेपाली कामदारहरू छटपटाइरहेका छन् । तराई–मधेसका जिल्ला पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सुनसरी, सप्तरी, मोरङलगायतका जिल्लाका बढी कामदार रहेका छन् ।

काठमाडौंको रेडियन, ब्रोडवे ओभरसिज, जेपी म्यानपावरलगायत कम्पनीबाट १६२ जना गएको पर्सा, छिपहरमाई गापा–२ का दुर्योधन महतो केवटले बताए । ह्वाट्सएपमा सम्पर्क गरी उनले चार लाख खर्च गरी मलेशिया सुपरमार्केटमा काम गर्न आएको भन्दै म्यापावरले पठाएको तर हाल खाना र पानीविना छटपटाउनुपर्दा मन नै रोएको बताए । गाउँघरबाट ऋण काढेर विदेश आएर परिवार पाल्छु भन्ने सपना अधूरै रहेको उनले बताए । साथै, म्यानपावर र मलेशियाको कम्पनीका कारण आफूहरू घरको न घाटको भएको धनुषाका अर्का कामदार दीपेश यादव बताउँछन् । उनीहरूले तत्काल नेपाल सरकारले आफूहरूलाई स्वदेश फिर्ता गराउन पहल गरिदिनुपर्ने अपील गरेका छन् । चाँडै बोलाइएन भने कतिपय कामदार खाना, पानी बेगर बिरामी परेर ज्यान पनि गुमाउनुपर्ने अवस्था सृजना हँुदै गएको उनीहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here