प्रस, वीरगंज, १ साउन/
गढीमाई नगरपालिका–३ लक्ष्मीपुरघाट बाग्मती नदीमा नुहाउने क्रममा सोमवार बेपत्ता भएका १० वर्षीय बालकको मङ्गलवार शव भेटिएको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घण्टापश्चात् घटनास्थलबाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो । गढीमाई नपा–३ लक्ष्मीपुरका हकुद्दीन कवाडीका १० वर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथीसहित सोमवार बाग्मती नदीमा नुहाउने क्रममा डुबेका थिए । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरे पनि १० वर्षीय सफर कवाडी भने डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी ११ नं हेडक्वार्टरबाट विपद् तथा उद्धार सामग्रीसहित गएका ३० जनाको टोली, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले लगातारको खानतलाशपछि लक्ष्मीपुरदेखि साढे तीन किलोमिटर टाढा धरमपुर गाउँछेउ बाग्मती नदीको किनारमा बालकको शव बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक विक्रम हुमागाईंले जानकारी गराएका छन् ।