प्रस, वीरगंज, १३ असार/

विषादी व्यवसायी सङ्घले भोलि असार १४ गतेदेखि दुई दिन देशभरका पसल बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ।

सरकारले जेठ १५ गते ल्याएको बजेटमा आगामी वर्षदेखि विषादीहरूमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको थियो। यसविरुद्ध सङ्घले प्रधानमन्त्री, अर्थमन्त्री, कृषिमन्त्रीलगायतलाई भेटेर कृषिबालीमा प्रयोग हुने विषादीलगायत कृषि वस्तुमा लागेको मूअकर हटाउन माग गरेको थियो। सरोकारवाला मन्त्रीहरूले सङ्घको अनुरोधमा सकारात्मक हुने बताए पनि असार ११ गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट जेठ १५ गते प्रस्तुत बजेटमा भएको व्यवस्था अनुसार निर्णय भएकोमा विरोध जनाएको छ।

यसैगरी, जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जीकरण शुल्क पाँच सयदेखि हजार प्रतिशतसम्म शुल्क वृद्धि गरेको निर्णय पनि एकलौटी भएको भन्दै सङ्घले मूअकर खारेजी र विषादी पञ्जीकरण वृद्धि शुल्क हटाउन माग गर्दै दुई दिन आन्दोलन घोषणा गरेको छ। शुक्रवार र शनिवार देशव्यापीरूपमा विरोध प्रदर्शनका साथै विषादी पसल बन्द गरिने सङ्घका अध्यक्ष छोटेलाल प्रसाद र महासचिव रामचन्द्र कार्कीले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here