प्रस, वीरगंज, ११ असार/

स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत जयमोद ठाकुरले वीरगंज महानगरमा पाँच वर्षपछि कालाजारको बिरामी भेटिएको बताएका छन्।

डेङ्गु, मलेरिया, कालाजार, जिका, इन्सेफ्लाइटिसलाई बायोलार्भिक साइटिसद्वारा नियन्त्रणबारे स्वास्थ्य स्वयंसेविकाहरूसँगको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य अधिकृत ठाकुरले उक्त जानकारी दिएका हुन्।

वीरगंज महानगरको शिक्षा तालीम विकास केन्द्रमा आयोजित कार्यक्रममा उनले कालाजारको बिरामी वीरगंज–९ मा देखा परेको र सो सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायतका व्यक्तिहरू अनुसन्धानको लागि आउन लागेको बताए। उनले स्वास्थ्य स्वयंसेविकाहरूलाई कालाजारको बिरामी भएको क्षेत्रदेखि सय मिटरवरिपरिका मानिसहरूलाई निगरानी गर्न आग्रह गरे।

कालाजार चाँडै सर्ने हुँदा यसको नियन्त्रणको लागि सो अवधिमा सय मिटरवरिपरिका मानिसहरूलाई ज्वरो लाग्नेजस्ता लक्षणहरू देखिए सूचित गर्न आग्रह गरे। उनले हाल तीन महीना अवधिमा पर्सा जिल्लामा नौजना डेङ्गुका बिरामी देखिएका र त्यसमा सातजना महानगरपालिकाको रहेको बताए। एकजना ठोरी र एकजना विन्ध्यवासिनी गाउँपालिकाको भएको खोप अधिकृत ठाकुरले बताए।

उनले पानी पर्न शुरू भएको र यो मौसममा लामखुट्टे बढेर डेङ्गु, मलेरिया, कालाजार, जिका, इन्सेफ्लाइटिसजस्ता रोगहरू हुन सक्ने हुँदा समयमा सचेत हुनुपर्ने बताए। वीरगंज महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरले लामखुट्टेबाट हुने रोग नियन्त्रणका लागि १ नं वडादेखि १६ सम्म बायोलार्भिक साइटसको प्रयोग भइरहेको र त्यसमा स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका प्रभावकारी हुने बताए। उनले आफ्ना टोलमा स्थिर पानी भएको ठाउँ पहिचान गरेर स्प्रे गर्न लगाउन सुझाए। उनले स्वयंसेविकाहरूलाई असार १२–१४ गतेसम्म तीन दिन यस कार्यमा खट्न आग्रह गरे। गत वर्ष सरह यो वर्ष पनि स्वयंसेविकाहरूलाई परिचालन गरेर लामखुट्टेबाट हुने रोग नियन्त्रणका प्रयासहरू शुरू भएको उनले बताए।

महानगरका १ देखि १६ नं वडासम्म सबैभन्दा बढी संवेदनशील क्षेत्र भएकोले पहिलो प्राथमिकतामा राखेर अभियान शुरू गरिएको उनले जानकारी गराए।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख डा मुक्तिनारायण साह, नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपाल, वीरगंज महानगरका सरसफाइ अधिकृत सर्फुद्दीन मियाँ, स्वयंसेविका सङ्घकी अध्यक्ष शर्मिला न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here