जीतपुरसिमरा उपमहानगरको नगरसभा सोमवार पनि स्थगित भएको छ। असार ८ गते बोलाइएको नगरसभामा गणपूरक सङ्ख्या नपुगेको भनेर नगरप्रमुख राजन पौडेलले सो दिनको लागि स्थगित गरी आज नगरसभा आह्वान गरेका थिए।
आज नगरसभाका लागि प्रमुख पौडेल नगर सभाहलमा प्रवेश गर्नासाथै एमाले र नेका पक्षीय जनप्रतिनिधिहरूले कुर्सी तोडफोड गर्न शुरू गरेका थिए। एमालेबाट निर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारीले १२५ सदस्यीय नगरसभामा २७ जना मात्रको सहभागितामा नगरसभा सञ्चालन गर्ने काम गरेर नगरप्रमुखले दुर्घटनालाई निम्तो दिएको आरोप लगाए। उनले नगरसभाको लागि कार्यपालिका बैठकबाट अनुमोदन नगरिएको र बहुमत सदस्यहरूलाई किनारा लगाइ नगरसभा गर्ने मूर्खतापूर्ण कार्य भएकोले सोको बर्खिलाप विद्रोहमा उत्रिएको बताए।
असार ८ गतेको नगरसभा स्थगित भएपछि आज बोलाइएको नगरसभामा पनि गणपूरक सङ्ख्या पुग्न नदिन एमाले र नेका पक्षका जनप्रतिनिधिहरू बिहानदेखि छलफलमा थिए।
तोकिएको समयमा नगरसभाको लागि नगरप्रमुख पौडेल नेपाल प्रहरी र नगर प्रहरीको घेरामा सभाहलमा प्रवेश गरेका थिए। उनको प्रवेशसँगै सभाहलमा कुर्सी तोडफोड शुरू भयो। नगरप्रमुख पौडेल भने प्रहरी र नगरप्रहरीको घेराभित्र मोबाइलमा व्यस्त रहे। परिस्थिति प्रतिकूल भएपछि आजको नगरसभा पनि स्थगित गरेर उनी बाहिरिएका थिए। उपप्रमुख अधिकारी, वडाध्यक्षहरू धनबहादुर श्रेष्ठ, हरिदेव खरेल, कैयुद्दीन अन्सारी, सुनील गुप्तालगायतका जनप्रतिनिधिहरूले नगरप्रमुख मुर्दाबादको नारा लगाएका थिए। नगरप्रमुख पौडेल माओवादी केन्द्रबाट निर्वाचित हुन्।