कालिकामाई गाउँपालिकाले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। वडा नं ३ हरिहरपुर बिर्तास्थित पालिकाको सभाहलमा आयोजित कार्यक्रममा गापा उपाध्यक्ष राजमती बरैनीको तर्फबाट जिन्सी प्रमुख विक्रम चौरसियाले आगामी आवको लागि नीति तथा कार्यक्रमका साथै अनुमानित ४३ करोड ६५ लाखको बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीले बताए। आगामी आवको नीति तथा कार्यक्रममा कालिकामाई गापाले शिक्षा, कृषि, स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको छ। गुणस्तर शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप गरिने योजना छ।
विद्यालय बाहिर रहेका गरीब परिवारका बालबालिकाहरूलाई शिक्षामा अनिवार्य पहुँच गराउने नीति लिइएको छ। विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गराउनुका साथै विद्यालयमा टिकाइराख्नका लागि पनि नीति तथा कार्यक्रममा व्यवस्था गरिएको छ। यसका अतिरिक्त महिला हिंसा, बालविवाह, बालशोषणलगायतका विकृति हटाउन कार्यक्रम ल्याउने उल्लेख छ।
गापाध्यक्ष वशिष्ठकुमार गुप्ताको अध्यक्षतामा भएको गाउँसभामा वडाध्यक्षहरू लालबाबू राउत बरई, सोनालाल चौरसिया, सञ्जयकुमार पटेल, सञ्जयकुमार साह, जयनारायणप्रसाद कुर्मीलगायतको सहभागिता थियो।