पटेर्वासुगौली गाउँपालिकाले आइतवार १३औं गाउँसभाबाट आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ। वडा नं ४ स्थित गुदरबाबा मन्दिर परिसरमा आयोजित कार्यक्रममा गापा उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्।
उपाध्यक्ष महतोले आगामी वर्षको लागि अनुमानित ४९ करोड ११ लाख बजेट सार्वजनिक गरेकी हुन्। जसमा सङ्घीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड १२ लाख १५ हजार, सशर्त अनुदान अन्तर्गत १८ करोड आठ लाख विनियोजन गरिएको छ।
त्यस्तै, विशेष अनुदानतर्फ राजस्व बाँडफाँटबाट नौ करोड ६६ लाख ५० हजार र आन्तरिक आयबाट दुई करोड १५ लाख अनुमानित आय प्रक्षेपण गरेको छ। सामाजिक सुरक्षा भत्तातर्फ नौ करोड गरी ४९ करोड ११ लाखको बजेट विनियोजन गरिएको छ।
आगामी आवमा गापाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने, आँखा अस्पताल निर्माणलगायत ठूला योजनाहरूमा लगानी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसका साथै शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन विकास, भौतिक निर्माण तथा स्थानीय कला संस्कृतिको विकास एवं संरक्षण गर्ने योजनाहरूमा विशेष जोड दिइएको छ।
कार्यक्रममा दुग्ध उत्पादन किसान, तरकारी उत्पादक किसान, अन्न उत्पादक किसान तथा विभिन्न तहका उत्कृष्ट छात्रछात्रालाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो।
गापा अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षता एवं समाजसेवी तथा बुद्धिजीवी परमेश्वर गौरोको प्रमुख
आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
बलिराम शुक्ला, बिरुवागुठी/
पर्सागढी नगरपालिकाको ११औं नगरसभाको आइतवारको दोस्रो बैठक पनि स्थगित भएको छ।
सातजना वडाध्यक्षलगायत केही सदस्यहरूको विरोधका कारण गणपूरक सङ्ख्या नपुगेपछि आजको दोस्रो बैठक पनि स्थगित भएको हो। बैठकमा २२ जना नगरसभा सदस्यहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरे पनि बहुमत नपुगेको बताइएको छ।
यता सातजना वडाध्यक्षले केही वडा सदस्यहरूलाई शनिवार बेलुकीदेखि नै पालिकाबाहिर क्याम्पिङ गरेर राखेर आजको बैठकमा समेत उपस्थिति हुन नदिएका कारण ११औं नगरसभालाई केही वडाध्यक्षहरूले अनिर्णयको बन्धक बनाउन खोजेपछि आजको बैठकमा पनि गणपूरक सङ्ख्या नपुगेको अवस्थामा पालिकाको नीति तथा कार्यक्रम र बजेट पेश गर्न नसकिएको नगरप्रमुख गोकर्ण पाठकले बताए। तेस्रो बैठक असार १० गते सोमवार हुने बताइएको छ।
यता वडाध्यक्षहरू सुकमान तामाङ, शेख खुर्सेद, चुन्नु मिश्र, नवलकिशोरप्रसाद गुप्ता, शङ्कर रायभर, रामबढाईप्रसाद यादव, सुन्दरीदेवी थरुनीले लिखित निर्णय गर्दै आफ्नो माग पूरा नभएसम्म नगरसभा बहिष्कार गर्ने निर्णय गरेका छन्।