ठोरी गाउँपालिका–४ का किसानहरूले दाना (घाँस)का लागि उत्पादन गरेका मकैबाली कम्पनीले खरीद नगरेको गुनासो गरेका छन्। किसानहरूले करीब दुई सय बिघा क्षेत्रफलमा मकैखेती गरे पनि सोही स्थानमा सञ्चालित कलश क्याटल फार्मिङ प्रालिले खरीद नगरेको किसानहरूले बताए।
सो फार्मिङले कतिपय स्थानीय किसानहरूलाई मकैको घाँस उत्पादनका लागि पेश्की रकमसमेत उपलब्ध गराएको स्थानीय हरिप्रसाद चौलागाईंले बताए। कम्पनीले मकैको घाँस खरीद गर्न अस्वीकार गरेपछि किसानहरू अलमलमा परेका छन्। सो फार्मिङले दूध उत्पादनको लागि ठूलो सङ्ख्यामा गाईभैंसी पालेको छ। तिनै वस्तुभावको दानाका लागि किसानहरूलाई मकैको घाँस उत्पादन गर्न लगाइएको थियो। कम्पनीले किसानको खेतबाटै मकैको बोट कटानी गरी रु चार प्रतिकिलोको दरमा खरीद गर्ने गरेको किसानहरूले बताए।
ठोरी गापा–५ सुवर्णपुरका किसान कल्याण बस्नेतले मकैबालीलाई खाद्यान्नको रूपमा खेती गरेको भए राम्रो आम्दानी हुने बताए। तर घाँसको रूपमा गरेको मकैलाई फलाउँदा किसानलाई आधा मात्र आम्दानी हुने उनले बताए। घाँसको लागि रोपिएको मकै एकदमै नजीकमा रोप्दा बाला ससाना भएकाले मकै उत्पादनमा ५० प्रतिशतले कमी आएको अर्का किसान गर्भे तामाङले बताए। ससाना बालालाई केलाउन, दाना निकाल्न र सुकाउन निकै समस्या भएको उनले बताए। असारको दोस्रो सातामा पानी पर्ने सम्भावना बढी भएकोले मकै सुकाउन समस्या हुने तामाङले बताए। एकदमै सुकेको मकैको मूल्य अहिले दुई हजार आठ सयदेखि तीन हजार रुपियाँ प्रतिक्वीन्टल छ।
यस सम्बन्धमा सुवर्णपुरस्थित कलश क्याटल फार्मिङ प्रालिका सञ्चालक श्यामबदन यादवले मकैको घाँस नकिनेको स्वीकार गरे। कम्पनीमा व्यवस्थापकीय पक्ष निकै कमजोर भएकोले खरीद गर्न नसकेको बताए। किसानबाट घाँस उधारोमा खरीद गर्न सकिने भएपनि भुक्तानीमा ढिलाइ हुने परिस्थिति सिर्जना भएकोले मकै फलाउनु नै उत्तम रहेको यादवले बताए। कम्पनीको व्यवस्थापन पक्षको जिम्मेवारी अरूलाई साझेदारीमा दिएकोले समस्या निम्तिएको यादवले बताए।