धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीको आडम्बरमुक्त (रमैणी) विवाह सम्पन्न भएको छ। सन्त रामपालजी महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरीबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै २१ नवजोडीहरूको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको पर्सा अध्यक्ष रामनरेश दासले बताए। विवाहमा कुनै प्रकारको सरसामान, नगद लेनदेन नभएको तथा बेहुला र बेहुलीपक्षको एक रुपियाँँ पनि खर्च नभएको उनले बताए। आगन्तुकहरूलाई खाने, बस्ने व्यवस्था आश्रमको तर्फबाट गरिएको थियो। मात्र १७ मिनेटको गुरुवाणीद्वारा ३३ करोड देवीदेवताको स्तुति गरी तीनै देवीदेवताहरूको साक्षीमा विवाह सम्पन्न गरिएको अध्यक्ष दासले बताए। समाजबाट दाइजोरूपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत विवाह गराइएको उनले बताए। कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल, सुरक्षा निकायका उच्च अधिकारीलगायतको सहभागिता थियो।