प्रस, वीरगंज, ७ असार/

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजले शुक्रवार पुरानो बसपार्कमा एक दिने योग शिविर सम्पन्न गरेको छ।

कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मीणाले योगले निरोग र स्वस्थ राख्ने भएकोले सधैं योग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले अन्तर्राष्ट्रिय योग दिवस शुरू गर्ने प्रस्ताव भारतले गरेको बताउँदै नेपालसहित १७७ सदस्य राष्ट्रले अनुमोदन गरेपछि योगको महत्व र सान्दर्भिकता अझै बढ्दै गएको बताए।

उनले महावाणिज्य दूतावासले वीरगंजमा मात्रै सीमित गरेको योग शिविरलाई व्यापकता दिन तथा महत्व दर्शाउन मुलुकका विभिन्न छ ठाउँमा योग शिविरको स्थापना गरिएको जानकारी गराए।

महावाणिज्यदूत मीणाले दूतावासले योगको नौं संस्करण सफलतापूर्वक आयोजना गरेको जानकारी गराए।

कार्यक्रममा मधेस प्रदेशका खेलकूदमन्त्री प्रमोद जैसवालले नेपाल र भारतमा सदियौंदेखि योग गरिंदै आएको बताए। उनले योगको महत्व बुझेर पनि धेरैजनाले योग गर्न नचाहेको बताए। मन्त्री जैसवालले योगद्वारा शरीर, मन र आत्मालाई सकारात्मक तरीकाले एक दिशामा लैजान सकिने र अध्यात्म प्राप्तिका लागि योग सर्वोत्तम उपाय भएको बताए।

कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलगायत सर्वसाधारणहरू योग शिविरमा सहभागी थिए। कार्यक्रमको सहजीकरण वीरगंज महावाणिज्य दूतावासका वाणिज्यदूत शशिभूषण कुमारले गरेका थिए।

यसैगरी, भारतीय राजदूतावासले पोखरास्थित फेवातालको किनारामा पनि योग शिविर सञ्चालन गरेको थियो।

भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग र स्वास्थ्य परामर्श शिविर आयोजना गरेको थियो।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा प्रेमनारायण अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here