सूर्य नेपाल प्रालि, सिमरा, बाराको आर्थिक सहयोगमा चेली कृषि सहकारी संस्था, वीरगंजले जीतपुरसिमरा उपमहानगर–१, २ र ३ मा सञ्चालन गरेको २० दिने अचार बनाउने तालीम बिहीवार समापन भएको छ।
समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, बाराका प्रमुख धर्वेन्द्रलाल कर्णले सहभागी महिलाहरूलाई साना उद्योग दर्ता र सञ्चालन विधिबारेमा जानकारी गराएका थिए। उनले महिला सहभागितामा सञ्चालित उद्योगहरू फस्टाउने गरेको कारण महिलाहरूलाई सीप सिकेर साना उद्योग सञ्चालन गर्न सुझाए।
कार्यक्रममा सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले सूर्य नेपालले महिलाहरूलाई सीप सिकाएर विभिन्न पेशामा संलग्न गराउँदै आएको र यो कार्यलाई निरन्तरता प्रदान गर्ने बताए। सीपविना उद्योग व्यवसाय सञ्चालन जोखिमपूर्ण हुने भन्दै उनले सीप सिकाउनका लागि ठूलै धनराशि खर्च हुने हुँदा महिलाहरूले सीप सिके अनुसारको रोजगारमा संलग्न भएको खण्डमा मात्र तालीमको उपयोगिता साबित हुने बताए। उनले सूर्य नेपालले जुत्ता, चप्पल, ब्याग र पर्स बनाउने तालीम दिएका महिलाहरूले सिमरामा समूह बनाएर सो उद्योगहरूलाई अगाडि बढाएको उदाहरण दिए।
कार्यक्रममा तीनवटै वडाबाट तालीम लिएका ६० जना महिलालाई कारखाना व्यवस्थापक श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा, बारा/पर्सा औद्योगिक करिडरका अध्यक्ष सञ्जय साह, सूर्य नेपालका दिनेश कौशल, दिपेन हङ्ग आङदम्बे, राकेश अर्याल, आशिष अधिकारी, उत्सव ठकुरी, यज्ञबहादुर आले, चेली सहकारीकी अध्यक्ष कमला घिमिरे, प्रशिक्षकहरू नीलम यादव, सरु सुनुवार, सीमा क्षत्री र राममाया लामालगायतको सहभागिता थियो।