प्रस, रौतहट, ५ असार/

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहको आग्रहमा वडावासीहरूले बुधवार तालाबन्दी खोलेका छन्। उपभोक्ता समितिमा भएका अनियमिततालाई न्यायपूर्वक सम्बोधन गर्ने प्रतिबद्धता अध्यक्ष सिंहले जनाएपछि तालाबन्दी खुलेको हो।

सो गापा वडा नं ५ का अध्यक्ष धर्मनाथ चौधरीले उपभोक्ता समिति गठनमा व्यापक अनियमितता गरेको आरोपमा वडावासीहरूले वडा कार्यालयमा आज बिहान १० बजेदेखि तालाबन्दी गरेका थिए।

तालाबन्दी भएको खबर गापा अध्यक्ष सिंहले थाहा पाएपछि वडा कार्यालय बडहर्वामा पुगी सत्यतथ्य बुझी न्यायपूर्वक सम्बोधन हुने भनेपछि वडावासीहरूले तालाबन्दी खोलेका थिए।

सार्वजनिक सूचना प्रकाशन गरी प्रत्यक्ष लाभ हासिल गर्ने घर परिवारका सदस्य सम्मिलित मधेस प्रदेश सरकारबाट स्वीकृत उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०८० मा व्यवस्था भए बमोजिम तथा सार्वजनिक खरीद नियमावली २०६४ को दफा ९७ मा व्यवस्था भए अनुसार गठन गर्नुपर्नेमा प्रदेशसभा सदस्य नागेन्द्र साह, नवल चौधरी, वडाध्यक्ष धर्मनाथ चौधरीलगायतले वडा सचिव कार्यालयमा नभएको बेला दर्ता चलानी केरमेट गरी अर्काको दर्तामा आफ्नो दर्ता चढाइ तथा अरूको चलानी नम्बरमा आफ्नो चलानी चढाइ गोप्य तरीकाबाट उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय, रौतहटमा पठाएको विरोधमा वडावासीहरूले वडा कार्यालय तथा वडा सचिवको कोठामा तालाबन्दी गरेका थिए।

पूर्वाधार विकास कार्यालय, रौतहटले मधेस प्रदेश सरकारबाट पूँजीगततर्फ  भरत रायको घरदेखि रामलक्ष्मण रायको घरसम्म सडकमा माटो पुरी ग्राभेल कार्यको लागि २५ लाख, अश्विनी चौधरीको जग्गादेखि हदिश शेखको जग्गासम्म ढलान सडक निर्माणको लागि १५ लाख र रामअश्रे रायको जग्गादेखि पाकरचोकसम्म सडकमा माटो पुरी ग्राभेल कार्यको लागि रु २५ लाख बजेट विनियोजन गरेको छ। सोही कार्य गर्नको लागि उपभोक्ता समिति गठनमा अनियमितता भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here