शिवशक्ति इम्पोरियम, गौरले बर्सेनि लाखौं रकम राजस्व छल्दै आएको छ। इम्पोरिममा ग्राहकले सामान खरीद गर्दा बिल नदिई बर्सेनि लाखौं रकम राजस्व हिनामिना गर्दै आएको छ। बिल नदिई राजस्व छल्दै आएको शिवशक्ति इम्पोरियमले जनप्रतिनिधिहरूसँग मिलेर व्यापक अनियमितता गर्दै आएको हो।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले शिवशक्तिले रौतहटका अधिकांश स्थानीय पालिकामा गरेको नीतिगत अनियमितताको पोल खोलेको छ।
तीनवटा आफ्नै व्यापारिक फर्मबाट कोटेशन पेश गरी दररेटलाई क्रमिकरूपमा घटबढ गरी कोटेशनमा साडीलगायत अन्य सामान सप्लाई गर्ने गरेको छ।
सार्वजनिक खरीद ऐनमा भएको व्यवस्था अनुसार एउटा व्यापारिक फर्मले वर्षमा कोटेशनमा बढीमा रु १० लाखसम्म कारोबार गर्न सक्ने प्रावधान रहेको छ।
शिवशक्ति इम्पोरियमका सञ्चालकले आफ्नै फर्म अमान टे«डर्स, चुकी इन्टरप्राईजेज र ओम साई जनरल एन्ड अर्डर सप्लायर्सबाट सार्वजनिक खरीद ऐनविपरीत एउटै स्थानीय तहमा १० लाख रकम बराबरका दुर्ईदेखि तीनवटासम्म भुक्तानी लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, केही स्थानीय तहमा सोही विक्रेताले नियमविपरीत करीब २० लाख बराबरको समेत भुक्तानी लिएको पाइएको छ। शिवशक्ति इम्पोरियमले आफ्ना झोले फर्महरूमार्फत स्थानीय तहमा सप्लाई गरेको साडीको सङ्ख्यामा समेत अनियमितता गरेको बुझिएको छ।
भारतबाट भन्सार छली गरी ल्याइएको कम मूल्यका सुती साडीलाई यी फर्मका माध्यमबाट प्रतिसाडी १५ सयदेखि दुई हजार रुपैयाँसम्मको बिल बनाइ स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, लेखा र स्टोरका कर्मचारीलाई मिलाइ भुक्तानी लिएको देखिन्छ।
त्यस्तै, मूल्य अभिवृद्धि करको रकम मिलान गर्न शिवशक्तिले विभिन्न अलगअलग व्यापारीहरूसँग फर्जी बिलसमेत खरीद गर्ने गरेको बुझिएको छ।
शिवशक्तिले विगतमा पनि यस्तै फर्जी बिल खरीद गर्ने कार्य गरी नेपाल सरकारको करोडौं रुपियाँ राजस्व छलेको भनी सो फर्म उपर राजस्व अनुसन्धान कार्यालयबाट चार करोड ३६ लाख जरिवानासहितको मुद्दा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको स्रोतले बताएको छ।