प्रस, परवानीपुर, ५ असार/

केडिया आँखा अस्पताल परवानीपुरले पर्साको छिपहरमाई–५ भिस्वामा सर्जिकल सेन्टर शुरू गरेको छ। छिपहरमाई गापाकी उपाध्यक्ष ललिता देवीले सो सेन्टरको उद्घाटन गरेकी थिइन्। बुधवार बिहान १० बजे आयोजित कार्यक्रममा २०७२ सालदेखि सो गापामा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रमा सेवासुविधा थपेर सर्जिकल सेन्टर उद्घाटन गरिएको हो। अब भिस्वामा रहेको सो सेन्टरबाटै आँखाको शल्यक्रिया हुने जनाइएको छ। केडिया आँखा अस्पताल परवानीपुर सञ्चालक समितिका अध्यक्ष राजेशकुमार केडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो गापा वडा नं ५ का अध्यक्ष मौजेलाल साह, नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, नेपाल नेत्रज्योति सङ्घ पर्साका सभापति भगवती चौधरीलगायतको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण अस्पताल व्यवस्थापक प्रकाशकुमार बर्माले गरेका थिए। २०३१ सालदेखि सञ्चालनमा रहेको केडिया आँखा अस्पताल परवानीपुरको ५०औं वर्ष प्रवेशको अवसर पारी सर्जिकल सेन्टर सञ्चालन गरिएको हो। भिस्वा सर्जिकल सेन्टरसहित सो अस्पतालले पर्साका पोखरिया, डोकैला, वीरगंजको तेजारथटोल, बाराको कलैया, कोल्हवी, कबहीगोठमा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here