वर्षा नहुँदा पर्सा जिल्लाको बझियानका किसानहरूले रोपेका धानका बीउ सुक्न थालेका छन्।
अगहनी धानखेतीको लागि खेतमा रोपिएको बीउ अहिले तयारी हुनुपर्नेमा पानी नपर्दा खेतमैं बीउ सुक्न थालेको किसान हनिफ मियाँले बताए। उनले केही किसानहरूले दमकलबाट बीउमा पानी छरे पनि त्यो लाभदायी नभएको बताए। पाँच धुरदेखि एक कट्ठासम्म जग्गा हुने किसानहरूले अगहनी धानको बीउ रोपेका थिए।
२० देखि २५ दिनमा बीउ तयार हुनुपर्नेमा अहिले वर्षा नहुँदा बीउहरू खेतमैं सुक्न थालेका र धानखेती कसरी गर्ने भन्ने समस्या देखिएको उनले बताए। कतिपय किसानले पम्पिङसेटको प्रयोग गरेर धानको बीउ जोगाउने प्रयास गरिरहेका छन्। तर पम्पिङसेटबाट पानी छरेर बीउ बचाउने कार्य भएपनि त्यसबाट आशाप्रद उत्पादन नहुने कालिकामाई गाउँपालिका कृषि शाखाका सहायक सुदीप चौरसिया बताउँछन्।
उनले वर्षा नभएको अवस्थामा पम्पिङसेटबाट पानी पटाउँदा धानको बीउलाई बचाउन मात्र सकिने तर उत्पादन नबढाउने बताए। उनले वर्षाबाट हुने सिंचाइले बीउ राम्ररी हुर्किने र त्यस्तो बीउबाट धानको उत्पादन बढ्ने बताए। गए वर्ष पनि समयमा पानी नपर्दा थुप्रै किसानले लगाएका धानको बीउ खेती प्रभावित भएको थियो। कतिपय किसानहरूले दोस्रोपटक बीउ रोपेर ढिलो गरी धानखेती गरेका थिए। जसले गर्दा गत वर्ष पर्सा जिल्लाको धानखेती केही प्रभावित भएको थियो।