काठमाडौं, २ असार/रासस

आइसिसी टी–२० विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘बी’बाट अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा प्रवेश गरेका छन्।

सेन्ट लुसियास्थित डारने शामी राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेसँगै अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा पुगेका हुन्। चार खेलमा आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अस्ट्रेलिया सुपर आठमा पुगेको हो भने समान खेल खेलेको इङ्ल्यान्ड पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्न सफल भएको हो।

समान पाँच अङ्क बटुलेको स्कटल्यान्ड नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेपछि सुपर आठमा पुग्न असफल भयो। सोही समूहमा रहेका स्कटल्यान्डसहित नामिबिया र ओमन भने विश्वकपबाट बाहिरिएका छन्।

आजको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलव चार ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग–यो। उसका लागि ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ४९ बलमा पाँच चौका र चार छक्काको सहायताले ६८ रनको योगदान गरेका थिए।

मार्कस स्टोइनिसले २९ बलमा नौ चौका र दुई छक्काको मदतमा ५९ रन बनाए भने टीम डेविडले अविजित २४ रन जोडे। ग्लेन म्याक्सवेलले ११ रन बनाए। स्कटल्यान्डका लागि मार्क वाट र स्याफन शरीफले समान दुई/दुई विकेट लिए भने ब्राड ह्विलले एक विकेट झारे।

त्यसअघि टस हारेर ब्याटिड्ढो निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो। स्कटल्यान्डका लागि ब्रान्डन म्याकलमले सर्वाधिक ६० रनको योगदान दिए। उनले ३४ बलमा छ छक्का र दुई चौकाको मदतले सर्वाधिक ६० रनको योगदान गरेका थिए। कप्तान रिची बेरिङ्टनले ४२, ओपनर जर्ज मुन्सीले ३५ तथा म्याथु क्रसले १८ रन बनाए।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई विकेट लिंदा एडम जाम्पा, एस्टन अगर र नाथन एलिसले समान एक/एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here