विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजमा रक्तदाता सम्मान कार्यक्रम, उत्प्रेरणा र रक्तदान कार्यक्रम गरी मनाइएको छ।
प्रत्येक वर्ष जून १४ तारिख जेठ ३२ गते विश्व रक्तदाता दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा आज रक्तदाता समूह (ब्लड डोनर्स एसोसिएशन) पर्साले सम्मान कार्यक्रम आयोजना गरेको छ। होटल मकालुमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेलले नेपालको सन्दर्भमा २०२३ सालमा नेपाल रेडक्रस सोसाइटी गठन भएको, २०३४ सालमा रक्तसञ्चार केन्द्र स्थापना भएको र २०४८ सालदेखि नेपाल सरकारले रेडक्रसलाई रक्तसञ्चार केन्द्र सञ्चालनको अनुमति दिएको बताए।
उनले पर्सा जिल्लामा रक्तसञ्चार केन्द्रबाट पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुरसम्मका बिरामीलाई रगत प्रदान गर्नुको साथै ती स्थानहरूमा रक्तदाताहरूले रक्तदान कार्यक्रम गर्दै आएको बताए। उनले १८ वर्ष उमेर समूहदेखि रक्तदान गर्न अभिप्रेरित हुन सुझाव दिए।
रगत नपाउनेहरूको लागि रक्तसञ्चार केन्द्रमा आएपछि सहज रगत उपलब्ध हुने वातावरण बनाउन आफू नेतृत्वको टीमले हरसम्भव प्रयास गरिरहेको उनले बताए। अहिलेसम्म रगतको अभाव हुन नदिन विभिन्न सङ्घसंस्था, व्यक्तिहरूले सक्रिय भूमिका निर्वाह गरेको र त्यस्ता व्यक्तिलाई ब्लड डोनर्स एसोसिएशनले वार्षिकरूपमा सम्मानित गर्दै आएको बताए।
उनले रगतको अभाव हुन नदिन चिकित्सकहरूले कम्पोमेन्ट (रगत वर्गीकरण गर्ने) कार्यलाई व्यवहारमा लागू गरेको खण्डमा अझ सहज हुने बताए। कम्पोमेन्ट मेशिन रक्तसञ्चार केन्द्र वीरगंजमा रहेको तर विभिन्न कारणले चिकित्सकहरूले वर्गीकृत रगतको सिफारिश नगर्दा अहिलेसम्म सम्पूर्ण रगत प्रयोग भइरहेकोले पनि अभाव देखिने गरेको बताए। उनले कम्पोमेन्टबाट चार थरीको रगत वर्गीकरण गर्ने र आवश्यकता अनुसार रगत बिरामीहरूलाई दिन सकेको खण्डमा एउटै रगतबाट चारजना लाभान्वित हुने बताए।
बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुषमा कुशवाहाले ग्रामीण क्षेत्रका मानिसलाई पनि रक्तदानप्रति अभिप्रेरित गर्न सुझाइन्। उनले गाउँमा उत्प्रेरणा कार्यक्रम गर्ने र ग्रामीण क्षेत्रका मानिसमा पनि रक्तदान गर्न जागरुकता ल्याएको खण्डमा रगतको अभाव नहुने बताइन्।
कार्यक्रममा २०८० वैशाखदेखि २०८१ वैशाखसम्म ५० पिन्टभन्दा बढी रक्तदान गर्ने ८१ जना, आकस्मिक रक्तदान गर्ने ५४ जना र गरीब, दीनदुःखीहरूलाई निश्शुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रलाई आर्थिक सहयोग गर्ने पालिका, व्यक्ति गरी १७ जनासमेत गरी १९२ जनालाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कँडेल, ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपाल, बहुदरमाई नपाकी उपप्रमुख कुशवाहा, परसौनी गापा बाराका अध्यक्ष विनोद जयसवाल, जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्ष चयन गुरुङ, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, नारायणी अस्पतालका निमित्त मेसु खालिद हसनले सम्मान गरेका थिए।
एसोसिएशनका अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रोशनी श्रेष्ठले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरण गरेका थिए।
यसैगरी, विश्व रक्तदाता दिवसको अवसरमा शुक्रवार वीरगंजको दुई स्थान र बाराको एक स्थान गरी तीन स्थानमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
भारतीय महावाणिज्य दूतावास, रेडियो वीरगंज र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा रेडियो वीरगंज परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीणा, रेडियो वीरगंजका अध्यक्ष धु्रव साह, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका जयप्रकाश खेतान, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेललगायतको सहभागिता थियो।
यसैगरी, वीरगंजको घण्टाघरमा वल्र्ड लिङ्क कम्युनिकेशनले दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए भने सौरभ फूड प्रोडक्ट जीतपुरले आयोजना गरेको कार्यक्रममा १५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक मनीष साहले बताए।
यसैगरी विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, पर्साको आयोजनामा पटेर्वासुगौली गापा–५ निचुटामा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
नेरेसो निचुटा उपशाखाका सभापति रामदेवप्रसाद थारूको अध्यक्षता र गापा अध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उत्प्रेरणा कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले रक्तदानबारे उत्प्रेरणा दिएका थिए। उनले १८ वर्ष पुगेका र ६० वर्ष मुनिका स्वस्थ मानिसले रक्तदान गर्न सक्ने बताए। प्रत्येक तीन महीनामा सामान्य खानपिन गर्ने मानिसले पनि रक्तदान गर्न सकिने बताए।
ग्रामीण क्षेत्रका मानिसमा चेतना अभाव र विभिन्न गलत हल्लाको कारण रक्तदान गर्ने प्रवृत्ति कम भएको भन्दै उनले रक्तदानमा ग्रामीण सहभागिताको लागि आह्वान गरे।
यसैगरी विश्व रक्तदान दिवसको अवसरमा छिपहरमाई गापाको तुलसीबर्वामा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। नेरेसो तुलसीबर्वाका अध्यक्ष जीतेन्द्रकुमार वर्माको अध्यक्षता र सशस्त्र प्रहरी निरीक्षक दीपककुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको उत्प्रेरणा कार्यक्रममा प्राविधिक प्रमुख सौरभ पाण्डेले रक्तदानबारे जानकारी गराएका थिए।