काँक्रेविहार (सुर्खेत), जेठ २८/रासस

युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता निर्धारित समयमैं हुने बताएका छन्। आगामी मङ्सिरमा हुने १०औं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत आएका मन्त्री श्रेष्ठले सोमवार निर्माणस्थलको अनुगमन गरेका थिए।

वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले कर्णालीमा खेलकूदको विकास हुने विश्वास व्यक्त गरे। मन्त्री श्रेष्ठले कर्णालीले पहिलोपटक यति ठूलो संरचना निर्माण गर्दा कर्णालीको खेलकूद विकास मात्र नभई अन्य क्षेत्रले पनि सिको गर्न सक्ने बताए। “कर्णालीले जमर्काे गरेर १०औं राष्ट्रिय खेलकूदलाई महोत्सव मनाउन अपील गर्छु,” उनले भने, “यही अवस्थामा खेलकूद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ। तर १०औं राष्ट्रिय खेलकूद जसरी भएपनि हुन्छ।”

१०औं राष्ट्रिय खेलकूद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने उनको भनाइ छ। संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उनले स्वीकार गरे। उनका अनुसार केन्द्रले रु १० करोड छुट्याउन खोजेको थियो, तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेशको क्षमता अनुसार १०औं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here