‘खेलमय अभिभावकत्व’को नारासहित भोलि मङ्गलवार पहिलोपटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जून ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ।
युनिसेफ नेपालले सोमवार आयोजना गरेको सञ्चार अन्तत्र्रिmयामा सो संस्थाका प्रारम्भिक बालविकास विज्ञ डा दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभई यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताए।
“खेलका माध्यमबाट बालबालिकाले अरूसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न र उनीहरूका डरहरूमाथि विजय पाउन सक्छन्,” डा शाक्यले भने, “बालबालिकाले खेल्दा सुरक्षित महसूस गर्छन्। खेलले बालबालिकाको रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मदत गर्छ। यी अहिलेको विश्वमा बाँच्नका लागि महत्वपूर्ण सीपहरू हुन्।”
विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रियरूपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रूपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ। खेलले सहिष्णुता र लचकताको प्रवद्र्धन साथै सामाजिक समावेशिताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्छ। यही कुरालाई आत्मसात् गर्दै बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो।