वीरगंज (पर्सा), २८ जेठ/रासस

वीरगंज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहान १०:३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयहरूलाई निर्देशन दिएको छ। महानगरको आइतवार बसेको बैठकले गर्मी बढेसँगै सोमवारदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्र गर्न निर्देशन दिएको हो।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई–मधेस क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधि कम हुनेगरी पठनपाठन गराउन निर्देशन दिएको बताए।

“महानगरपालिकाको आइतवार बसेको बैठकले हाल शिक्षण समयावधि पछि मिलान गर्नेगरी शैक्षिक क्षति न्यूनीकरण गर्न अर्को सूचना जारी नभएसम्म जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्नेगरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउन अनुरोध गरिएको छ,” उनले भने।

वीरगंज महानगर क्षेत्रमा यस अघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आएको थियो। महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आएको थियो। महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यस अघि वीरगंजमा अत्यधिक गर्मीका कारण जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गरेको थियोे।

त्यसपछि बर्सात् भएपनि वीरगंजमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो। महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ वटा विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here