हुलाकी सडक निर्माण भएपछि पर्साको दुर्गम क्षेत्रमा गणना हुँदै आएको ठोरी गाउँपालिकामा आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकहरूको चहलपहल बढेको छ। पर्साको सदरमुकाम वीरगंजदेखि करीब ६४ किलोमिटरको दूरीमा रहेको ठोरी गापा सडकसेवा विस्तारपछि नजीकिएको छ। कुनै बखत रात्रि बसाइ गरेर फर्कनुपर्ने ठोरी पुग्न अहिले सवा घण्टा समय लाग्छ। बिहान गएर दिनभरि घुमफिर गरेर साँझसम्म आरामले फर्कन सकिन्छ। त्यसैले गर्दा हेटौंडाको शहीद स्मारक, त्रिखण्डी, भैंस र रौतहटको नूनथर र सर्लाहीको भरत तालभन्दा बढी वीरगंज, कलैया, जीतपुर, सिमराका मानिसहरू ठोरी जाने थालेका छन्। ठोरीलाई मधेस प्रदेशको पहिलो पर्यटन गन्तव्य बनाउनका लागि मधेस प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबू राउत गद्दीले ठोरीमा प्रदेश मन्त्रिपरिषद्को बैठक गरेर रु १० करोड सहयोगको घोषणा गरेका थिए। प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सो निर्णय यद्यपि अहिलेसम्म कार्यान्वयन भने भएको छैन। मधेस प्रदेशको पहिलो पर्यटन क्षेत्र घोषणा भयो र सहयोग राशि पनि तोकियो तर त्यो राशि अहिलेसम्म ठोरीलाई प्राप्त हुन सकेन। ठोरीवासीहरू आफ्नो क्षेत्रको समृद्धि चाहन्छन्। यसका लागि उनीहरूले सङ्घीयता घोषणा भएर पहिलो प्रदेश सरकार गठन भए लगत्तै ठोरीलाई बाग्मती प्रदेशमा गाभ्नका लागि पहल गरेका थिए।
मधेस आन्दोलनमा ठोरी नाका निकै चर्चामा आएको थियो। प्रमुख नाका वीरगंज बन्द हुँदा करीब नौ महीना ठोरी नाकाबाट अवैध कारोबार फस्टाएको थियो। भन्सार नभएको कारण राज्यले पनि नागरिकहरूलाई आवश्यक पेट्रोलियम पदार्थ, खाद्यान्नहरूको आपूर्ति सोही नाकाबाट गर्न लगाएको थियो। मधेस आन्दोलन र नाकाबन्दीपछि ठोरीलाई बाग्मती प्रदेशमा गाभेर वीरगंजको विकल्पमा अर्काे नाकाको रूपमा विकास गर्ने सरकारको भित्री तयारी थियो। सोहीअनुरूप ठोरीवासीहरूले आफ्नो क्षेत्रलाई बाग्मती प्रदेशमा गाभिनुपर्ने अडान राखेका थिए। ठोरी गापाले नै यसबारेमा निर्णय गरेर सरकारसँग माग गरेको थियो। तर प्रदेशको सीमाङ्कन तोकिएको अवस्थामा गापाले अन्य प्रदेशमा गाभ्न पाउँ भन्दैमा गाभिन सक्ने संविधानमा व्यवस्था नभएको र सो कुराको मधेस प्रदेश सरकार र पर्सावासीले पनि विरोध गरेपछि मत्थर भएको थियो। ठोरीवासीलाई आकर्षित पार्न त्यसपछि मधेस प्रदेश सरकारले पर्यटनको सम्भावना देखाएर रिझाउने प्रयास ग–यो। यो अवधिमा ठोरीसम्म हुलाकी सडकको निर्माण भएको छ र आसपासका मानिसहरू ठोरी घुम्न जाने क्रम बढ्दो छ। सीमापारि भारतबाट ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष, छठ पूजापछि र अन्य उत्सवहरूमा पिकनिक मनाउन आउने क्रम पुरानो हो।
पर्सेली जनता पनि दुःखसुखमा ठोरी जाने गरेका थिए। तर सडक निर्माणपछि अन्यत्रभन्दा ठोरी पर्सा र बारावासीहरूको लागि पहिलो गन्तव्य भएको छ। अहिले ठोरीसँग जोडिएको भरतपुर महानगरपालिकाले सन् २०२४ लाई पर्यटन वर्षको रूपमा मनाउँदैछ। यही क्रममा ठोरी नाका भएर भारतीय पर्यटकहरूलाई भिœयाउने उसको मनसाय छ। वीरगंज नाका भएर भारतीय पर्यटकहरू चितवन जाँदा लामो दूरी पर्छ। नरकटियागंज, भिखनाठोरी, सिकटालगायतका क्ष्Fेत्रबाट भारतीय पर्यटकहरू भिœयाउने लक्ष्यमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सडकको सुधार आवश्यक छ। यसमा पहल भएमा भारतीय पर्यटकहरू ठोरी भएर भरतपुर पुग्ने आधार विकसित हुन सक्छ।