महावीरप्रसाद रघुवीरराम त्रिजुद्ध माविले आफ्नो क्लिनिक अनधिकृतरूपले खाली गराएको डा सुमन प्रसादले आरोप लगाएका छन्। उनले ३१ वर्षदेखि विद्यालयले बनाएको सटरमध्ये उत्ततर्फको अन्तिम कोठा भाडामा लिएर क्लिनिक चलाउँदै आएकोमा अहिले एक्कासि खाली गराएकोमा आपत्ति जनाएका छन्।
उनले कुनै पनि पसल खाली नगराइएको र आफ्नो पसल मात्रै खाली गराएकोमा आपत्ति जनाए। आपूmले नियमितरूपमा ३१ वर्षदेखि पसलको भाडा दिंदै आएको र केही पसलहरूको भाडा बाँकी रहँदा पनि उनीहरूलाई खाली नगराएर आफूसँग पूर्वाग्रह राखेर खाली गराएको दाबी गरे। डा सुमन प्रसादले पसल खाली गराउन आफूलाई सूचना दिनुपर्नेमा त्यस्तो केही नगरेको भन्दै सोविरुद्ध नेपाल चिकित्सक सङ्घ, पर्सामा उजूरी गरेको बताए। उनले आफ्नो खाली गराइएको पसल फिर्ता गराउन माग गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय (बबलु) कलवारले आफूलाई सोबारेमा केही थाहा नभएको बताए। उनले विव्यसले यसबारेमा कुनै पनि निर्णय नगरेको भन्दै आफू विद्यालयको दाता परिवारबाट प्रतिनिधि रहेको र आपूmलाई समेत यसबारे खबर नगरिएकोमा दुःखेसो गरे।
वडाध्यक्ष जगत साह कानूले पनि डा सुमन प्रसादको क्लिनिक खाली गराइएकोबारेमा आफूलाई जानकारी नगराइएको बताए। विद्यालयले यस्तो कार्य निर्णय गरेर गर्नुपर्ने तर त्यस्तो केही नगरिएको उनले बताए।
प्रधानाध्यापक नवीन मिश्रले फोनबाट बताउन नमिल्ने भनी प्रतिक्रिया दिएका छन्। स्रोतको अनुसार डा सुमन प्रसादको क्लिनिक पछाडि अवैध संरचना तयार गरिएको छ। यसबारेमा पनि विव्यस, वडाध्यक्ष् कसैलाई पनि जानकारी छैन। भवनको नक्शापास पनि गरिएको छैन र कसले भवन बनायो भन्नेबारेमा पनि कसैलाई थाहा छैन। तर जुन रूपले भवन बनेको छ, त्यसले डा सुमन प्रसादको क्लिनिक पछाडि बनाएको हुनाले कुनै व्यापारिक प्रयोजनको लागि निर्माण गरिएको देखिन्छ।