वीरगंजको आदर्शनगर रङ्गशालामा जारी जिल्ला लिग फूटबल प्रतियोगिताको उपाधि युनिट युवा क्लब श्रीसियाले जितेको छ। पर्सा जिल्ला फूटबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा भेट्रान्स सिटी क्लब वीरगंजलाई दुईका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै युनिट युवा क्लबले उपाधि जितेको हो।
शनिवार भएको फाइनल खेलको आठौंैं मिनेटमा भेट्रान्स सिटी क्लबका रवि चौधरीले पहिलो गोल गरेका थिए। तर भेन्ट्रासका खेलाडीले आत्मघाती गोल गरेर बराबरी बनाए। त्यसैगरी, खेलको २५औं मिनेटमा युनिट युवाका सुनील गुरुङले दोस्रो गोल गरेका थिए भने यो गोललाई भेन्ट्रासका रवि चौधरीले एक मिनेटको अन्तरालमा फिर्ता गरी खेल बराबरीमा ल्याए। तेस्रो गोल युनिटका रेमन डङ्गोलले गरे र यही गोल फाइनलको निर्णायक गोल भयो।
उनी नै आजको खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए। प्रतियोगिताका विजेता र उपविजेता टीमलाई नगरप्रमुख राजेशमान सिंहले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। पर्सा जिल्ला फूटबल सङ्घका अध्यक्ष रोशन कलवारको अध्यक्षता भएको समापन कार्यक्रममा अखिल नेपाल फूटबल सङ्घ मधेस प्रदेशका महासचिव दीपक साह, भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेत, उपाध्यक्ष सागर राणालगायतको सहभागिता थियो। कार्यक्रममा पङ्कज श्रेष्ठले स्वागत र विनोद परियारले सहजीकरण गरेका थिए।