बाराको राष्ट्रिय वन क्षेत्रबाट शुक्रवार राति पाँच थान सालको गोलिया लोड गरी चोरी तस्करी गरिरहेको अवस्थामा जीपसहित चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, निजगढले डिभिजन वन कार्यालय, बारालाई बुुझाएको छ। जीपका चालक कलैया उपमहानगरपालिका–१२ का २९ वर्षीय ताराचन्द्र राउत कुर्मी रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। जीतपुरसिमरा उपमहानगरपालिका १६ किलोमिटर आसपासको वन क्षेत्रमा सालको रूख काटी ना.२च १६४९ नम्बरको जीपमा लोड गरी पिलुवा हुँदै कलैयातर्फ लैजाँदै गर्दा पूर्व–पश्चिम महेन्द्र राजमार्गको पिलुवामा शनिवार बिहान पाँच बजेको समयमा इप्रका, निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहा नेतृत्वको सुुरक्षा टोलीले पक्राउ गरेको थियो। जीपमा गोलिया चोरी तस्करी हँुदै गरेको सूचनाको आधारमा वन कर्मचारीले नाकामा कडाइ गरेको र वन सुरक्षाकर्मीहरू परिचालित गरिएको डिवका, बाराका प्रमुख विनोद सिंहले बताए।
इप्रका, निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले आफूलाई पनि सोबारे सूचना आएपछि गस्तीमा गएको टोलीले गोलिया लोड जीप, चालक पक्राउ गर्न सकेको बताए। पक्राउ परेका चालक कुर्मीले निजगढका अजय चौधरीको निर्देशनमा सालको गोलिया लोड गरेर जीपबाट कलैया लैजान लागेको प्रारम्भिक बयान दिएका छन्। बरामद काठ ९०.३२ क्युफिट रहेको र सोको बजार मूल्य रु चार लाखभन्दा बढी रहेको डिवका, बाराले जनाएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको डिवका, बाराका प्रमुख सिंहले बताए।