धर्मेन्द्र चौरसिया, पोखरिया, २५ जेठ/
पोखरिया अस्पतालमा कार्यरत एकजना चिकित्सकले हाजिरी नगरेर तलब सुविधा लिइरहेको पाइएको छ।
डा पाताल गिरी २०८० भदौ २९ मा पोखरिया अस्पतालमा हाजिर भएका थिए। त्यसपछि उनलाई अस्पतालको कसैले पनि देखेका छैनन्। तर अस्पतालको हाजिरी किताबमा डा गिरीको भने कात्तिकमा १०, मङ्सिरमा तीन, पुसमा एक, माघमा दुई र फागुनमा दुई गरी १८ दिनको हाजिरी छ।
बाँकी हाजिरीमा घर र बिरामी बिदा लेखिएको छ। यही आधारमा उनले गत पुससम्मको तलब सुविधा पनि लिएको देखिन्छ। अहिले माघदेखि उनको तलब रोकिएको छ। प्रशासन शाखाका लक्ष्मी चौहानले डा गिरीलाई आफूले अहिलेसम्म नदेखेको बताए। उनले डा गिरीको हाजिरी फागुनपछि नदेखिएको र उनलाई अस्पतालमा पनि आफूले कहिल्यै नभेटेको बताए। डा गिरी भदौमा हाजिरी हुँदा निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा सञ्जु दास थिए। नियमतः घर र बिरामी बिदा पाउने अधिकार भएकोले सोही अधिकार अनुसार आफूले सुविधा लिएको डा गिरीले दाबी गरे।
भर्खरै जेठको दोस्रो सातादेखि मेसु भएका डा अनिल यादवले आफूलाई यस विषयमा थाहा नभएको बताए। उनले आफू आएपछि पनि डा गिरीलाई नदेखेको बताए। भरपर्दो स्रोतका अनुसार डा गिरी भदौमा हाजिर भएका र त्यसपछि उनी बुटवलमा निजी क्लिनिक सञ्चालन गरेर बसेका छन्। उनको बहाली पोखरिया अस्पतालमा छ र यस अवधिमा पाँच महीनाको तलब उनले बुझिसकेका छन् भने अहिले माघदेखि वैशाखसम्म चार महीनाको तलब रोक्का छ। डा गिरीले आफू नियमसङ्गतरूपले बिदामा बसेको दाबी गरेका छन्। उनले आफ्नो तीन वर्षको बिरामी र घर बिदा सञ्चित रहे अनुसार बिदामा बसेर तलब बुझेको र अहिले आफू सरुवा गराउन लागिपरेको बताए।