मधेस प्रदेश सरकारको नेतृत्वबाट जनता समाजवादी पार्टी नेपाल साढे छ वर्षको शासनसत्ताबाट हटेको छ। मुलुक सङ्घीयतामा गएपछि २०७४ सालको पहिलो आमनिर्वाचनबाट मधेस प्रदेशको नेतृत्व जनता समाजवादी पार्टी नेपालले सम्हाल्दै आएको थियो। जसपाबाट मधेस प्रदेशको पहिलो मुख्यमन्त्री लालबाबू राउत गद्दी भएका थिए। उनको पाँच वर्षे अवधिमा तत्कालीन नेकपा (एमाले/माओवादी केन्द्र) नेतृत्वको सरकारमा जसपा सहभागी भएकोले तीन वर्ष केही भएन। त्यसपछि नेकपाको एउटा घटक एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद् विघटनको सिफारिश गरे अनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सिफारिशमा दुईपटक संसद् विघटनको सिफारिशलाई स्वीकार गरेकी थिइन्। तर सर्वाेच्च अदालतले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी आदेश दिएपछि नेकपाको सरकार ढलेको थियो। एमाले अध्यक्ष ओलीले संसद् विघटनको सिफारिश गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेससँग सहकार्य गरेका थिए।
त्यसपछि प्रधानमन्त्री बनेका देउवाको पालामा माधवकुमार नेपालले एमाले टुक्र्याउँदै नेकपा एकीकृत समाजवादी बनाए अनि देउवासँग गठबन्धन बनाए। यसैगरी, जसपा पनि सरकारमा रह्यो। जसपा सरकारमा भएकोले मधेस प्रदेश सरकार टिकिरह्यो भने अन्य प्रदेशका सरकारहरू परिवर्तन भए। देउवासँगको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एस, जसपासहितले गत २०७९ सालको आमनिर्वाचन सहकार्यमा लडे। त्यसको परिणाम सार्वजनिक भएसँगै देउवाले गठबन्धनको सरकार दुई वर्ष चलाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठबन्धनको सरकार बनाउन नचाहेका र आफ्नै नेतृत्वमा सरकार रहिरहनुपर्ने अडान राखेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीको शरणमा पुगेर आफ्नो नेतृत्वमा सरकार बनाएका थिए। नयाँ सरकार बनेसँगै प्रदेश सरकार पनि यो गठबन्धनको सहभागितामा बनेको थियो।
एमाले, माओवादी केन्द्र गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग जसपा पनि सहभागी भएकाले मधेस प्रदेशमा जसपा नेतृत्वमा सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए। त्यसपछि राष्ट्रपतिको निर्वाचनमा एमालेलाई राष्ट्रपतिको भाग दिन प्रचण्ड कुनै पनि शर्तमा मानेनन् र अन्ततः दुई महीनामा यो गठबन्धनको सरकार पनि ढल्यो। दुई महीना अघि प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने र आफैं प्रधानमन्त्री बन्ने अडानमा रहेका देउवा, प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत भए र फेरि पुरानो गठबन्धन ब्यूँतियो। त्यसमा पनि जसपा समावेश भएको हुनाले छवटा प्रदेशका मुख्यमन्त्री फेरिए तर मधेस प्रदेशका मुख्यमन्त्री यादव नै रहे। देउवासँगको सहकार्य फेरि तीन महीना अघि फेरियो र एमालेसँग प्रचण्ड नेतृत्वमा नै अर्काे समीकरण बन्यो। यो समीकरणमा पनि जसपा नेपाल सहभागी भएकोले अन्य प्रदेशका मुख्यमन्त्रीहरू फेरिए तर मधेस प्रदेशका मुख्यमन्त्री यादव भने पटकपटक गरी चारपटक विश्वासको मत लिएर नेतृत्वमा टिकिरहे। यसबीचमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आलोपालो प्रधानमन्त्री हुने दाउमा लागे र समीकरणविरुद्ध नेकासँग सामीप्यता देखाउन पुगे। यो खेलको भण्डाफोर नेकपा एसका माधवकुमार नेपालले गरे। भागबन्डामा पहिलो नम्बरमा उनी थिए। त्यसपछि जसपा नेपाल नै फुटाउने काम भयो, सरकारबाट हटाइयो र त्यसैको परिणाम हिजो मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत पाएनन् र सरकार ढल्यो।