वीरगंज–२१ परवानीपुरबाट पटेलनगर जाने सडकखण्डमा वर्षात्को पानी जम्दा बाटो अहिले हिलाम्य भएको छ।
२०७४ देखि वडाध्यक्ष दुईजना परिवर्तन भए तापनि हालसम्म बाटोको विवाद सुल्झिन नसक्दा सो बाटो मरम्मत सम्भार एवं कालोपत्र हुन सकेको छैन। सडक चौडा गर्ने विषयमा स्थानीय नागमणि उपाध्याय र खेदु महतो धानुकबीचमा जग्गाको विवाद सिर्जना हुँदा सो ठाउँमा साइट क्लियर हुन नसकेको हो। जसले गर्दा परवानीपुरबाट पटेलनगरसम्म तीन किलोमिटर सडकखण्ड कालोपत्र गर्न ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले सडकखण्डको आधा डेढ किलोमिटर मात्र कालोपत्र गरेको छ। कालोपत्र नभएपछि सडक हिलाम्य हुँदा सो सडक भएर दैनिक आवतजावत गर्ने सयौं यात्री मर्कामा परेका छन्।
परवानीपुरका बासिन्दा अजीत कुशवाहाले सो बाटोको विवाद सहमतिमा टुङ्ग्याएर भएपनि स्थानीयवासीलाई सहज बनाउनुपर्ने सुझाव दिन्छन्। उनले वडाध्यक्ष् , वडासदस्य तथा सो ठाउँका जग्गाधनीहरूको उदासीनताका कारण लिपनीबिर्ताबाहेकका स्थानीयले सास्ती भोग्नुपरेको बताए। केही स्थानीयले वीरगंज महानगरपालिकाको परवानीपुरको सडक पोखरी बन्यो भन्दै सामाजिक सञ्जालमा तस्वीरसहितको आलोचनात्मक अभिव्यक्ति पनि राखेका छन्।
यस विषयमा वडाध्यक्ष राधाकृष्ण रौनियारले आफूले पटकपटक अमीन बोलाएर जग्गा नापजाँच गराइ सडक क्लियर गराउन खोज्दा वरपरका जग्गाधनीबीच सहमति हुन नसक्दा सडक कालोपत्र हुन नसकेको बताए। उनले विवाद सुल्झाएर सडक कालोपत्र गर्न प्रयास गरिरहेको बताए।