वीरगंज–२१ पटेलनगरस्थित सञ्चालनमा रहेका केही छाला उद्योगले खुलारूपमा काँचो र सुक्खा छाला फ्याँक्दा प्रदूषण फैलिने गरेको एवं भुस्याहा कुकुरले उक्त छाला खाँदा बौलाएर बाख्रा, गाईवस्तुलाई टोक्ने गरेको गाउँलेले गुनासो गरेका छन्।
छाला उद्योगको कम्पाउन्ड वाल नभएको, कच्चा पदार्थ खुलारूपमा राख्दा चराचुरुङ्गी, कुकुरले प्रदूषण फैलाउनुका साथै कुकुरले आतङ्क मचाएको छ। कुकुरले उक्त छाला पटेलनगरका सडक, खेतलगायतका ठाउँमा ल्याएर खाने गर्दा गाउँलेहरूलाई हिंड्नसमेत असहज भएको छ।
गाउँलेले छाला उद्योगलाई व्यवस्थितरूपमा कच्चा पदार्थ तथा तरल पदार्थ राख्न दबाब दिएका छन्। यसो नगरे उद्योगविरुद्ध आन्दोलन गर्ने गाउँलेले चेतावनी दिएका छन्।
सो स्थानमा मरियम लेदर, नेशनल, ग्लोबल, नेपाल लेदरलगायतका छाला उद्योग सञ्चालनमा छन्। ग्लोबल लेदरका प्रशासन प्रमुख शम्भुप्रसाद साहले उद्योगले छाला व्यवस्थितरूपमा राखेको दाबी गरे।