आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको छ।
नेपालले जीतका लागि नेदरल्यान्ड्ससामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सो लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेट गुमाएर पूरा ग–यो। नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए। उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे।
यस्तै, विक्रमजीत सिंहले २२, सेब्रान्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए। बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए।
यस अघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो। नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए। उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै, करण केसीले १२ बलमा १७ रन जोडे। गुलशन झाले १४ तथा अनिल साहले ११ रन बनाए।
बलिङतर्फ नेदरल्यान्ड्सका टीम प्रिङ्गनल र लगन भान वीकले तीन/तीन तथा बास डी लिड र मकेरेनले दुई/दुई विकेट लिए। नेपालले दोस्रो खेल जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।