प्रस, पोखरिया, २३ जेठ/

पोखरिया नगरपालिका–६ श्रीसियामा शहरी विकास मन्त्रालय मधेस प्रदेशले निर्माण गरिरहेको अधूरो धर्मशाला निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको पाइएको छ।

१५ लाख रुपैयाँको लागतमा हरिनारायण चौहान अध्यक्ष रहेको उपभोक्ता समितिमार्फत अधूरो धर्मशालाको पुनर्निर्माण कार्य थालिएकोमा सो निर्माण कार्यमा दुई नम्बर इँटाको प्रयोग भएको र सम्झौता अनुसार सिमेन्ट र बालुवाको जोडाइ नगरिएको पाइएपछि स्थानीयले विरोध गरेका छन्।

उपभोक्ता समितिका अध्यक्ष चौहानले दुई नम्बर इँटा प्रयोग भएको स्वीकार गरेका छन्। उनले एक नम्बर इँटा प्रयोग गर्ने बताए। अध्यक्ष चौहानले उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको बताए पनि स्थानीयले ठेकेदारमार्फत काम भइरहेको आरोप लगाएका छन्। ठेकेदारले दुई नम्बर इँटाको प्रयोग गरेको र ८ः१ अनुपातको मसला प्रयोग भइरहेको स्थानीयले आरोप लगाउँदै एक सातादेखि काम बन्द गराउने प्रयास गरिरहेका छन्। ठेकेदारले भने सोमवारसम्म जबरजस्ती काम गरेको स्थानीय किशोरी ठाकुरले बताए। उनले स्थानीयले एक सातादेखि काम बन्द गराउन र सम्झौता अनुसारको काम गर्न दबाब दिएको बताए।

कमसल निर्माण सामग्री प्रयोग भएको गुनासोसँगै शहरी विकास मन्त्रालयको वीरगंजस्थित कार्यालयबाट बुधवार इन्जिनीयर रामबालक यादवले निर्माणस्थलको निरीक्षण गरेका छन्। उनले निर्माण कार्यमा दुई नम्बर इँटा प्रयोग भएकोले गारो भत्काउन र नयाँ निर्माण गर्न निर्देशन दिएका छन्। उनले स्थानीयलाई सम्झौता अनुसारको काम भए नभएकोबारे निगरानी गर्न र सोबारे कार्यालयलाई सूचना दिन अनुरोध गरे। अधूरो धर्मशाला निर्माण कार्यको शिलान्यास प्रदेशसभा सदस्य एवं नेका, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले गरेका थिए। उनले शिलान्यासकै क्रममा गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न र निर्माण कार्यमा स्थानीयलाई चनाखो भई निगरानी गर्न सुझाव दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here