नेपाल पत्रकार महासङ्घको सदस्यतासम्बन्धी विवाद टुङ्गो लाग्नुको साटो झनै जेलिंदै गएको छ। जेठ २६ गते सबै शाखाको निर्वाचन सम्पन्न गर्ने गरी महासङ्घले जेठ १३ गते बेलुकी सदस्यता टुङ्गो लगाएर नाम सार्वजनिक गरेलगत्तै देशभर सो विषयलाई लिएर शाखा र महासङ्घका पदाधिकारी सदस्यहरूले विरोध गरेका थिए। नयाँ सदस्यता वितरण, नवीकरणलगायतका विषयमा महासङ्घले विधानसम्मत काम नगरेको भन्दै प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस सङ्गठनले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थिए।
यसैगरी, महासङ्घमा आबद्ध पाँचजना सचिव र चारजना सदस्य गरी नौजनाले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सदस्यता टुङ्गो लगाएर मात्र निर्वाचन गर्न निर्वाचन समितिसँग आग्रह गरेका थिए। तालाबन्दी, विज्ञप्तिद्वारा महासङ्घको सदस्यतासम्बन्धी विवाद चुलिएपछि अध्यक्ष विपुल पोखरेलले केही दिन अघि महासङ्घले आधिकारिकरूपमा सदस्यतासम्बन्धी टुङ्गो नलगाएको र सो कार्य सम्पन्न गर्नका लागि तालाबन्दी खोल्न आह्वान गरेपछि विरोधी समूहहरू र अध्यक्ष, महासचिवबीच दुई बुँदे सहमति भएपछि तालाबन्दी खुलेको थियो।
यसैबीच, सोमवार राति महासङ्घले सदस्यता सूची सार्वजनिक गरेपछि विवाद झनै बढेको छ। महासङ्घले जारी गरेको नयाँ सदस्यता सूची झनै विरोधाभासपूर्ण रहेको र त्यसमा सहमत हुने अवस्था नरहेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका छन्। यसैगरी, सदस्यताको नयाँ सूची झनै त्रुटिपूर्ण रहेको भन्दै पत्रकारसम्बद्ध विभिन्न संस्थाहरूले विरोध गरेका छन्। प्रेस सेन्टरबाहेक पत्रकारसँग आबद्ध नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठन, प्रेस मञ्चले विरोध गरेका छन्।
यता सदस्यता विवाद सम्बन्धलाई लिएर नेपाल पत्रकार महासङ्घ, पर्सामा समाजवादी प्रेस सङ्गठन, पर्साले लगाएको तालाबन्दी यथावत् छ। सङ्गठनका सचिव बृजलाल पासवानको सदस्यता नवीकरण नगरिएको र सदस्यताको लागि आवेदन भरेका श्याम सर्राफको जिल्लाबाट सिफारिश भएकोमा सदस्यता प्रदान नगरिएको भन्दै सङ्गठनले ती कार्य नसच्चिए तालाबन्दी जारी रहने र निर्वाचनका काम अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले जेठ २१ गते राति महासङ्घले सार्वजनिक गरेको नयाँ सदस्यता सूची मान्य नहुने प्रतिक्रिया दिएका छन् । उनले हिजो प्रकाशित सदस्यता सूचीमा थप सदस्यहरू राखिएका र जिल्ला शाखाको सिफारिश कार्यान्वयन नभएको बताएका छन् । उनले अहिलेको सूचीमा तीनजना सदस्य विधानविपरीत स्थानान्तरण गरिएको, तीनजनालाई प्रक्रियाविपरीत सदस्य बनाएको, शाखाले गरेको नयाँ सदस्य सिफारिश सूचीबाट छजनाको नाम हटाइएको र नवीकरणका लागि गरिएको सिफारिशबाट चारजनाको नाम काटिएको भनी आपत्ति जनाए ।
उनले विधानतः स्थानान्तरणका लागि छ महीनाअघि सम्बन्धित शाखाबाट सिफारिश हुनुपर्नेमा त्यस्तो प्रक्रिया केही नभएको बताए । यसैगरी, गत स्थानीय चुनावमा उम्मेदवार बनेकाहरूको हकमा सदस्यता खारेज गर्न शुरूमा सिफारिश लिएको र पछि पराजित भएकाहरूको हकमा पुनः पत्रकारितामा सक्रिय भएकाहरूलाई सदस्यता दिने भनी गरिएको निर्णय ७६ जिल्लामा लागू भएको तर पर्सा जिल्लामा लागू नगर्दा सदस्यता गुमाएकामध्ये अहिले सक्रिय पत्रकारिता गर्दै आएका तीनजना पत्रकारमाथि अन्याय भएको बताए । यी सबै बेथितिपूर्ण कार्यहरू नसच्चिए निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने उनले बताए । यसै विषयमा आज नेपाल प्रेस युनियन, पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस सङ्गठन, पर्साका अध्यक्ष शम्भुकुमार सुमन र प्रेस मञ्च नेपालका उपाध्यक्ष वीरेन्द्र साहले विज्ञप्ति जारी गर्दै महासङ्घको विधान मिचेर बनाइएको सदस्यताको छानबीन गरी कारबाही गर्न र प्रक्रियागतरूपबाट सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रियामा जान आग्रह गरेका छन् । सोविपरीत गरिए त्यसबाट सृजित समस्याको महासङ्घ भागीदार हुने चेतावनी पनि उनीहरूले दिएका छन् ।