प्रस, वीरगंज, २१ जेठ/

मधेस प्रदेश सरकारका मन्त्री तथा तिनका आसेपासेका कारण प्रदेशभरिका कार्यालय प्रमुखलगायत अन्य कर्मचारीहरू आजित भई कार्यालय छाडी बेपत्ता हुन थालेका छन्।

मधेस प्रदेशका आठवटा जिल्लामा सेवाभन्दा बढी विकासे कार्यालयहरू सञ्चालनमा छन्। मन्त्री तथा तिनका आसेपासेका रवैयाले कार्यालयमा बस्न नसकिएको एकजना कार्यालय प्रमुखले बताए। उनका अनुसार हुँदै नभएका कामहरूको भुक्तानी गराउन आसेपासेहरूले दबाब दिन थालेका छन्। उनीहरूको काम गरिएन भन्ने कुनै पनि बेला सरुवा गराउन सक्ने उनले बताए। अर्कोतर्फ हँुदै नभएका कामको भुक्तानी दिएमा जागीर जान सक्ने त्रास पनि रहेको ती कार्यालय प्रमुखको भनाइ छ।

अर्कोतिर मधेस सरकार ढल्ने निश्चित भएपछि मन्त्रीहरूले मातहतका कार्यालय प्रमुखहरूलाई मन्त्रालयमा हाजिर गराउन थालेका छन्। बजेटको केही प्रतिशत रकम मन्त्रीहरूले प्रत्यक्षरूपमा माग गरिरहेका छन्। मन्त्रीहरूले आफ्नै कार्यालय वा क्वार्टरमा प्रमुखहरूलाई बोलाइ कुल बजेटको केही प्रतिशत रकम नदिए आजभोलिमा नै सरुवा गर्ने धम्की दिने गरेको स्रोतले बताएको छ। पर्साका एकजना कार्यालय प्रमुखले आफूलाई थाहा छ केही रकम दिनुपर्छ तर कुन बेला मन्त्री फेरिने हो सोको डरले दिएको रकम डुब्न सक्छ भनी बताए। ‘अफ द रेकर्ड’मा बोल्दै ती प्रमुखले आजभोलिमा नै फेरिने मन्त्रीलाई रकम दिए भोलि आउने मन्त्रीले पनि सोही अनुसार रकम माग गर्ने बताए।

नाम नलेख्ने शर्तमा ती कार्यालय  प्रमुखले चालू आवको लागि पठाइएका योजनाहरूमा व्यक्तिको नाम नै तोकेर पठाइएको बताए। नाम तोकेर पठाएपछि आफूहरूले सोही अनुसार योजना वितरण गरेको बताए। सबै योजना मन्त्रीका आसेपासेहरूले नै हात पारेको उनको भनाइ थियो। ती प्रमुखका अनुसार ती योजनामा गुणस्तरहीन काम बढी हुन थालेको छ।

मधेस सरकार मातहतका कार्यालयहरूमा भ्रष्टाचार होइन महाभ्रष्टाचार हुने गरेको उनको दाबी छ। आफूहरू मधेस सरकारको कार्यालयमा बस्नु भनेको ‘खानु कि ओकल्नु’सरह भएको बताए। स्वच्छ ठाउँको खोजीमा रहँदा आठ जिल्लामा सीमित मधेस प्रदेशको जुन ठाउँमा गए पनि जागीर जोगाउन धौधौ रहेको उनले गुनासो गरे।

सबै सूचकाङ्कमा पछाडि परेको मधेस प्रदेशलाई अगाडि बढाउनमा कर्मचारीहरूको उत्तिकै योग्दान हुन्छ। काम गर्ने वातावरण जनप्रतिनिधिहरूले बनाउनुपर्छ तर उनीहरूले नै भ्रष्टाचारलाई बढावा दिने गरेको कर्मचारीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here