नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा ऐनामुल हकले सोमवार करार र दैनिक ज्यालादारीमा खट्दै आएका ४७ जना कर्मचारीलाई भोलि मङ्गलवारदेखि लागू हुनेगरी हटाएका छन्।
यही जेठ १३ गते नारायणी अस्पतालको मेसु भएका डा हकले सोमवार दिउँसो सूचना प्रकाशित गरी ४७ जनालाई भोलिदेखि लागू हुनेगरी हटाएर आजै काठमाडौं गएका छन्। दिउँसो ३ बजे सूचना जारी गरेर उनी काठमाडौं गएको कर्मचारी स्रोतले बताएको छ। अस्पताल विकास समितिले गत २०८० फागुन १० गते निर्णय गरेर ११७ जना दैनिक ज्यालादारी, १७ जना करार र ३१ जना विभिन्न मितिदेखि खट्दै आएका कर्मचारीहरूको व्यवस्थापन गरेको थियो। सात सदस्यीय समितिमध्ये नगरप्रमुख राजेशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सदस्यबाहेक अध्यक्ष गुप्ता, सदस्यसचिव मेसु डा चित्तरञ्जन साह, रमेश चौधरी, किरणकुमार शर्मा, अक्षयकुमार झा सो बैठकमा उपस्थित थिए। सोही समयमा भर्ना गरिएका कर्मचारीहरूमध्ये आज ४७ जनालाई हटाइएको हो। हटाइएका कर्मचारीमा ११ जना चिकित्सक, १२ जना स्टाफ नर्स, एक/एक जना दृष्टि विशेषज्ञ, बायोमेडिकल टेक्निसियन र फार्मेसी सहायक छन्। यसैगरी तीनजना हेल्थ असिस्टेन्ट, पाँचजना रेडियोग्राफर, तीनजना अहेब, सातजना कार्यालय सहयोगी र दुईजना स्वीपर छन्। अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले आफूलाई पनि अपराह्न ४ बजे जानकारी भएको र मेसुलाई फोनबाट सोधनी गर्दा उनी काठमाडौं पुगेको र भोलि आएर बताउने भनेको बताए। उनले विकास समितिले यसबारेमा कुनै निर्णय नगरेको बताए।
अस्पतालका सूचना अधिकारी सुनील रौनियारले कर्मचारी प्रशासनको निर्णयबाट हटाइएको बताए। उनले मेसु, लेखापाल र प्रशासन प्रमुख रहेको कर्मचारी प्रशासनको आजको बैठकले तलबसुविधा दिन समस्या भएकोले ४७ जनालाई हटाउने निर्णय गरेको बताए। हटाइएका कर्मचारीहरूको सात महीनादेखिको तलब बाँकी रहेको र उनीहरूलाई असार मसान्तसम्म बाँकी रहेको तलबसुविधा उपलब्ध गराइने सूचना अधिकारी रौनियारले बताए।