प्रस, सेढवा, २१ जेठ/

सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पर्सा जिल्लाका ग्रामीण भेगमा इन्टरनेटको प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको छ। यस क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ताहरू फेसबूक, मेसेन्जर, इमो, ह्वाटसएपलगायत सामाजिक सञ्जालहरू बढी चलाउने गर्छन्।

विशेषगरी युवा, कर्मचारी, विद्यार्थी तथा वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरूले इन्टरनेट प्रयोग बढी गर्छन्। स्वदेश तथा विदेशका सूचना, समाचार, जानकारीका लागि इन्टरनेट प्रयोग गर्ने गरेको जगरनाथपुर गाउँपालिका–१ पिपडाढीका कारी चौधरीले बताए।

सूचना तथा सञ्चारका माध्यम पत्रपत्रिका तथा रेडियोको पहुँचभन्दा बाहिर रहेका गाउँघरमा इन्टरनेटको प्रयोग बढी भइरहेको चौधरीले बताए। जिल्लाका ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर गाउँपालिकालगायतका क्षेत्रका मोबाइल प्रयोगकर्तामध्ये ७५ प्रतिशतभन्दा बढीले इन्टरनेट चलाउने गर्छन्।

रोजगारको सिलसिलामा स्वदेश तथा विदेशका विभिन्न शहरमा गएका नेपालीहरू घरपरिवारसँग कुराकानी गर्नका लागि इन्टरनेट चलाउने गरेको जीराभवानी गापा–१ शान्तिनगरकी गृहिणी देविका श्रेष्ठले बताइन्। विदेशमा फोन गर्दा धेरै रकम खर्च हुन्छ तर इन्टरनेटको माध्यमबाट भ्वाइस कल वा भिडियो कल निश्शुल्क गर्न पाएको श्रेष्ठले बताइन्।

यस क्षेत्रका शिक्षितका साथै अशिक्षित व्यक्तिहरूले पनि उत्तिकै इन्टरनेट चलाउने गरेका छन्। ग्रामीण भेगमा इन्टरनेट चलाउने मोबाइल प्रयोगकर्ता दिनहुँ वृद्धि भएपनि महँगो शुल्कमा इन्टरनेट चलाउन बाध्य छन्। यहाँका इन्टरनेट प्रयोगकर्ताहरू एनटिसी तथा एनसेलको सीमबाट डाटा प्याक खरीद गरी सामाजिक सञ्जालहरू चलाउने गर्छन्। वल्र्डलिङ्क, सुबिसुलगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले वाइफाईको सुविधा ल्याए पनि वायरलेस लिङ्क जडान गरेकाले इन्टरनेट ‘स्लो’ चल्ने गरेको छ। पटेर्वासुगौली, ठोरी, जीराभवानी, जगरनाथपुरलगायत अन्य पालिकाहरूमा इन्टरनेटको लागि अप्टिकल फाइबर जडान भइसकेको छ।

अप्टिकल फाइबर जडान भएपछि धेरैजसो आर्थिक कारोबार पनि इन्टरनेटकै माध्यमबाट हुने गरेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ईसेवा, खल्तीलगायतका एप्सको सहयोगबाट आर्थिक कारोबार बढेको छ। यसका साथै इन्टरनेटको प्रयोग गरी अनलाइनबाट बिजुलीको बिल,  इन्टरनेटको बिल, खानेपानी, विद्यालयको शुल्क भुक्तानी गर्न सर्वसाधारणलाई सुविधा भएको छ।

सूचना, सञ्चार, शिक्षा, बैंकिङ कारोबार, कुराकानी गर्न तथा मनोरञ्जनका लागि विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्न इन्टरनेटले एकदमै सहज गरेको भएपनि युवाद्वारा साइबर क्राइम गर्ने विकृति पनि निम्त्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here