निजगढ नगरपालिका ९ नं वडा कार्यालयले सोमवार आफ्नो वडाका मुख्य स्थानमा सिसिटिभी जडान गरेको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित इलाका प्रहरी कार्यालय, निजगढ हुँदै भित्री सडकहरू क्याम्पस रोड, ठाडोलाइन, नदीकाट, तेस्रोलाइन, प्रकाशबस्ती र प्राथमिक स्वास्थ्य केन्द्र जाने चौबाटो सडकलाई लक्षित गरी चारवटा सिसिटिभी जडान गरिएको वडा कार्यालयले जनाएको छ।
यस चौबाटो सडक शहीद चोकबाट दक्षिणतर्फ जाने मुख्य नाका भएकोले यस सडक भएर आवतजावत गर्ने व्यक्ति, सवारीसाधनलगायतको अस्वाभाविक, शङ्कास्पद गतिविधिलाई निगरानीमा राख्नका लागि सिसिटिभी जडान गरिएको वडाध्यक्ष रामचन्द्र कटुवालले बताए। उनले थप बजेट विनियोजना गरी अन्य स्थानमा पनि सिसिटिभी जडान गरिने बताए। सुरक्षासँग सम्बन्धित विषय भएकोले सिसिटिभीमा कैद हुने सम्पूर्ण गतिविधि इप्रका, निजगढको सुरक्षा प्राविधिक शाखाले हेर्ने वडाध्यक्ष कटुवालले जानकारी दिए।
चौबाटो सडक आसपास, वरपरका घरहरूमा दिउँसै चोरीका घटनाहरू भएपछि वडा कार्यालयले रु एक लाख विनियोजन गरी चारवटा सिसिटिभी जडान गरेको वडा सचिव सपना ढुङ्गानाले बताइन्। यस सिसिटिभीमा उज्यालो, अँध्यारोमा भिडियो र भ्वाइससमेत रेकर्ड हुने प्राविधिक समीर तामाङले बताए। निजगढ शहरोन्मुुख भइसकेकोले पनि हरेक चोक, सार्वजनिक स्थल, सडकहरूमा सिसिटिभी जडान गर्नु आवश्यक भएको उनले औंल्याए।
नगरका भित्री सडक, चोक चौतारा, सार्वजनिक स्थल, बस्तीहरूमा सिसिटिभी जडान गर्दा नागरिकहरूलाई सुरक्षाको अनुुभूति हुने, कुनै घटना हुन थाले अग्रिम थाहा पाउन सकिने, घटना भएमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग पुुग्ने इप्रका, निजगढका प्रमुख एवं प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।
पाँच वर्ष अघि निजगढ नगरपालिकाको आर्थिक सहयोगमा १६ वटा सिसिटिभी जडान भएपनि हाल आठवटा मात्र सञ्चालनमा रहेका छन्। निजगढ नगरमा आज जडान भएका सिसिटिभी गरी जम्मा २० वटामध्ये अहिले १२ वटा सञ्चालनमा छन्।