प्रस, वीरगंज, २१ जेठ/

बङ्गबन्धु कबड्डी कप–२०२४ मा नेपाली टीम उपविजेता भएको छ। सोमवार बङ्गलादेशको राजधानी ढाकामा भएको प्रतियोगिताको फाइनल खेलमा घरेलु टीम बङ्गलादेशविरुद्ध ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो।

बङ्गलादेशको राजधानी ढाकामा भएको फाइनल खेलको दोस्रो हाफमा नेपालले सुधारिएको खेल प्रदर्शन गरेको थियो। खेलको पहिलो हाफमा बङ्गलादेशले २४–१० को अग्रता बनाएको थियो। दोस्रो हाफमा २१–२१ को बराबरी अङ्क जोडे पनि पहिलो हाफको सहज अग्रताका कारण बङ्गलादेशले उपाधि घरमैं राखेको हो।

प्रतियोगितामा बङ्गलादेश अपराजित रह्यो। यस अघि समूह चरणको खेलमा पनि नेपाल बङ्गलादेशसँग ४६–३१ ले पराजित भएको थियो। दुवै टीम समूह ‘ए’बाट फाइनलमा आएका हुन्। नेपालले समूह चरणका पाँचमध्ये चार खेलमा जीत निकाल्दा बङ्गलादेश भने शतप्रतिशत नतीजासहित सेमिफाइनलमा आएको थियो।

सेमिफाइनलमा नेपालले केन्यामाथि टाइब्रेकरमा जीत निकाल्दा बङ्गलादेशले थाइल्यान्डविरुद्ध ४१–१८ को सहज जीत निकालेको थियो। सन् २०२१ देखि शुरू भएको प्रतियोगिताको हालसम्म चार संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बङ्गलादेशले जितेको छ। (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here