बिहीवार राति आएको हावाहुरी र वर्षाले पर्सा र रौतहटमा व्यापक धनजनको क्षति गरेको छ।
हावाहुरीले जस्तापाता उडाउँदा पर्साको विन्ध्वासिनी गाउँपालिका–२ का वृद्ध गुबेरी साहलाई लागेपछि उनको मृत्यु भएको छ। घरको आँगनमा बसिरहेका गुबेरीलाई जस्ताको धारले लागेपछि गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, हावाहुरीले बहुदरमाई गाउँपालिका–७ स्थित एनसेलको टावर ढल्दा स्थानीय ६० वर्षीय जोगेन्द्र महतो घाइते भएका छन्।
यसैगरी, बिहीवार साँझ आएको हावाहुरीले रौतहटमा थुप्रैजनाको घरको छाना उडाएको छ भने विद्युत् पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ।
हावाहुरीले चन्द्रपुर नगरपालिका–६ स्थित सत्यनारायण भगतको घरको छाना उडाउँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यसैगरी, वडा नं ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामविनय यादव, वडा नं ६ का भीमावीर पहरी, वडा नं ४ का सुन्तली पहरी, धर्मेन्द्र माझी, रामवीर माझीलगायतको घरको छाना उडाउँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्।
चन्द्रपुरमा ५० भन्दा बढी विद्युत्का पोल ढलेका छन्। विद्युत पोल, ट्रान्सफर्मर र अन्य उपकरण गरी ३० लाख मूल्यभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए।
रौतहटमा विद्युत् सेवा बन्द हुँदा ठूला तथा मझौला उद्योगहरू, घरेलु उद्योग, एफएम स्टेशन बन्द भएका छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सूचना निकालेर खानेपानी अवरुद्ध भएको जनाएको छ। हावाहुरीले विद्युत् अवरुद्ध हुन गई खानेपानी उपभोक्ताहरूमा परेको असरप्रति खानेपानी कार्यालयले क्षमा मागेको कार्यालय प्रमुख लोकेन्द्र खड्काले बताएका छन्। हावाहुरीले मकै, फलफूल, तरकारी लगायतका बालीमा पनि क्षति गरेको चन्द्रपुर नपाको कृषि शाखाले जानकारी गराएको छ।