गर्मी उपद्रो किसिमले बढ्दो छ। यसो त बर्सेनि गर्मीले उपद्रो मचाउने गर्छ। तर मानवीय स्वभाव पहिलेको भोगाइ बिर्सने र तत्काल भोगेको कुरालाई बढी प्राथमिकता दिने हुन्छ। गर्मी मधेस प्रदेशका आठ जिल्लासहित तराईका २२ जिल्लाको लागि नौलो होइन। केही वर्षयतादेखि देशका पहाडी जिल्लामा पनि गर्मी बढ्दो छ। गर्मीको कहर हिमाली क्षेत्रमा महसूस नभए पनि असर देखिन थालिएको छ। बर्खा नभएपछि गर्मी बढी महसूस हुन्छ र अहिले त्यस्तै भएको छ। बर्खा भएको बेला गर्मी त्यत्तिको महसूस हुँदैन। पछिल्ला वर्षहरूको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी भएको महसूस गरिंदैछ। बढ्दो गर्मीको कारण अहिले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएका समाचारहरू आइरहेका छन्। अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन निकै प्रभावित भइरहेको छ। नयाँ वर्ष २०८१ को सुरुआतसँगै तराई क्षेत्रमा गर्मीले जनजीवन प्रभावित पारेको छ। विगतका वर्षको तुलनामा यस वर्षको अध्यधिक गर्मीले भने जनजीवनलाई निकै प्रभावित पारेको छ।
गर्मी अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन अचाक्ली गर्मी बढ्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। गर्मी बढेको कारण घरबाहिर ननिस्कन, निस्कनै परे टाउकोमा कपडा राखेर निस्कन, सुतीको पातलो कपडा लगाउन र पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउन सुझाएको छ। जेठको दोस्रो साता शुरू भएको छ र यस क्रममा गर्मीको कारण शहर र गाउँँका बजारहरू दिनभरि सुनसान हुने गरेका छन्। अहिले ४१ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पर्सामा यो निकै बढी हो। अझ तापक्रम बढ्ने बताइएको छ र करीब ४५ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। भारतको दिल्लीलगायतका क्षेत्रमा अहिलेसम्मको सबैभन्दा बढी ५० डिग्री सेल्सियस तापक्रम मापन भएको छ। गत वर्ष यो अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको छ। गर्मी बढेसँगै विभिन्न रोगका प्रकोप पनि बढ्न थालेका छन्। अस्पताल, स्वास्थ्य चौकीहरूमा बिरामीहरूको चाप बढ्दो छ। बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो लाग्ने, टाउको दुख्ने जस्ता रोगका प्रकोप बढेका छन्। चिकित्सकहरूले गर्मीको कारण अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाएका छन्।
प्रचण्ड गर्मी बढेसँगै पर्सा जिल्लाका विद्यालयहरू बन्द भएका छन। वीरगंज महानगरपालिकासमेत तीनवटै नगरपालिका र सातवटा गाउँपालिकाले वर्षे बिदामा कट्टा हुनेगरी गर्मी बिदा दिएका छन्। यही जेठ १६ देखि गर्मी बिदा दिइएको र आइतवार विद्यालय खोल्ने भनिए पनि गर्मी कम हुने सङ्केत नदेखिएकोले बिदा लम्बिन सक्ने सम्भावना छ। वर्षा नभएर गर्मी बढेको छ भने यही क्रममा गत वर्ष सरह पानीको स्रोत सुकेर जिल्लाका विभिन्न स्थानमा पिउने पानीको समस्या सिर्जना भएको छ। वर्षा नहुन्जेल भूमिगत पानीको सतह माथि नआउने र पानीको सङ्कट जारी रहने देखिन्छ। वीरगंज महानगरलगायत ग्रामीण क्षेत्रका चापाकलहरू चैत मसान्तदेखि सुक्न थालेका छन्। पिउने पानीको अभाव टार्न महानगरले ठाउँठाउँमा डीप बोरिङ जडान गर्दै आएको छ। तर डीप बोरिङमा बढी खर्च हुने भएकोले आवश्यकता परेका सबै वडामा जडान हुन सकेको छैन। खानेपानी संस्थानका धारामा पनि पानी आउन छाडेको छ।