नेपाल सरकारले सिफारिश गरेका धानको बीउ छोडी पर्सेली किसानले भारतीय बजारबाट बीउ आपूर्ति गर्दैछन्।
पर्साको ग्रामीण भेगका किसानहरू अहिले वर्षेबाली धानको बीउ राख्ने तैयारीमा छन्। बीउ राख्नको लागि ब्याडमा सिंचाइ गर्ने, सरसफाइ कार्य तथा उन्नत जातका बीउ र मल व्यवस्था गर्न लागिपरेका छन्। किसानहरूले भारतीय बजार इनरुवा, भङ्गहा, मैनाटाड, सिकटा बजारबाट धानको बीउ खरीद गरी ल्याइरहेका छन्। किसानहरूले भारतीय बजारबाट गङ्गा कावेरी, पानछाप, सुफ्ला, सभानाहलगायत दर्जनौं ब्रान्डका बीउ खरीद गरिरहेका छन्। यी ब्रान्डका सोना मन्सुली, सोना सारो, भदई मन्सुली, मनी मन्सुली, कतर्नी, बास्मती तथा हाइब्रिड जातका धानको खेती गर्दै आएका छन्। तर यी जातका धानका बीउलाई नेपाल सरकारले निर्यातको लागि सिफारिश गरेको छैन।
करीब एक दशकअगाडि भारतीय बजारमा सोना मन्सुली जातको धानको बीउ आउँदा किसानहरूले सोही बाली लगाउन थालेका जीराभवानी गाउँपालिका वडा नं ४ का किसान राजेश चौधरीले बताए। यो जातको धानको बीउबाट उत्पादन राम्रो भएपछि किसानहरूको रोजाइमा प–यो। तर पछि यसमा विभिन्न रोगको प्रकोप बढेपछि यसलाई विस्थापित गर्दै केही किसानहरूले सोना सारो र भदई मन्सुली लगाउन थालेका किसान चौधरीले बताए। मनी मन्सुली जातको धानको उत्पादन बढी भइरहेकोले केही वर्षदेखि यसको खेती पनि बढेको छ।
यी धानका बीउ नेपाल सरकारको सिफारिशका बीउ नभएको जीराभवानी गाउँपालिकाका कृषि प्राविधिक क्षत्रबहादुर गुप्ताले बताए। पर्सामा हुने कुल धानखेतीमध्ये करीब ७५ प्रतिशत खेती यी जातका धानको बीउबाट हुने गरेको प्राविधिक गुप्ताले बताए। नेपाल सरकारले सिफारिश गरेका धानका बीउमध्ये हर्दिनाथ–१, सावासव–१, युएस–३१२, उपज–५५६६ र गोरखनाथ–५०९ जातका धानका बीउबाट केही किसानले खेती गर्दै आएका प्राविधिक गुप्ताले बताए। तर यी धानका बीउबाट उत्पादन भने सन्तोषजनक नहुने भएकाले किसानहरूले यी बीउबाट खेती नगर्ने प्राविधिक गुप्ताले बताए।
पर्सामा भारतीय बीउकै माग बढी भएका कारण भारतीय बजारबाट अवैधरूपमा आयात गरेर भएपनि बिक्री गरिरहेको एकजना धान व्यापारीले बताए। नेपाल सरकारको सिफारिशका बीउमध्ये हर्दिनाथ–१ माग अनुसार ल्याउने गरेको तर अन्य बीउ नल्याएको ती व्यापारीले बताए। सरकारले देशभरिको लागि १४४ जातका धानको बीउ सिफारिश गरेको छ।