बाराको जीतपुुरसिमरा उपमहानगरपालिकामा पर्ने बालगङ्गा खोलाबाट ठेक्काको नाउँमा उत्खनन गर्ने कार्य पूर्णरूपमा रोक लगाउँदै ठेकेदार कम्पनीलाई कारबाही गरी जरिवानासहित थप राजस्व असुल गर्न पत्राचार भएको छ। .
जिल्ला अनुुगमन समिति बाराको हिजो सोमवार बसेको बैठकले बाराका तीन स्थानीय तह कोल्हवी, निजगढ नगरपालिका र जीतपुुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, बिक्रीका लागि लगाएको ठेक्का सकार गर्ने कम्पनीले मापदण्डविपरित र परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरी लगेको जनाउँदै सो निर्णय गरेको जिल्ला समन्वय अधिकारी आमेद चौधरीले बताए।
यही जेठ १ गते कोल्हवी र निजगढ नगरपालिकास्थित बकैया खोला र जेठ ३ गते जीतपुुरसिमरा उपमहानगरकापालिकास्थित बालगङ्गा, पसाहा र दुधौरा खोलाको जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साह नेतृत्वको टोलीले स्थलगत अनुुगमन गरी तत्कालै सबै खोलामा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाएको थियो। साथै प्राविधिक टोलीले उत्खनन स्थलहरूको स्थलगत नापजाँच गरी बुुझाएको प्रतिवेदनको आधारमा थप आवश्यक निर्णय गर्ने जनाएको थियो .।
सोही अनुसार भौतिक पूूर्वाधार कार्यालय बाराका इन्जिनीयर राजेश चौधरीको संयोजकत्वमा डिभिजन वन कार्यालय, सरोकारवाला निकायहरूका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्राविधिकसहितको टोलीले खोलाको स्थलगत नापजाँच गरी जिल्ला अनुुगमन समितिलाई प्रतिवेदन बुुझाएको थियो। सो प्रतिवेदनको आधारमा बालगङ्गा खोला ठेक्का सकार गर्ने ठेकेदार कम्पनी जय माता दि कन्स्ट्रक्शन, कलैयाले २६ लाख ५३ हजार १५६ घनफिट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसार गर्न पाइने ठेक्का सम्झौतामा रहे पनि त्यस परिमाणभन्दा तेब्बर बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि सो खोलामा उत्खनन बन्द गर्दै ठेकेदार कम्पनीलाई बढी उत्खनन गरिएको परिमाण बराबरको रकम असुलउपर र मापदण्डविपरीत कार्य गरेबापत जरिवानासमेत असुलउपर गर्न, गराउन जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयलाई पत्राचार गरिएको छ।
त्यसैगरी, पसाहा र दुधौरा खोलाको हकमा उत्खनन स्थलहरूको नापजाँच नगरी बिलको आधारमा देखाएको उत्खनन परिमाण मान्य नहुने भन्दै दुई दिनभित्र स्थलगत नापजाँच गरी प्रतिवेदन पठाउन जिल्ला अनुुगमन समिति बाराले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयलाई जानकारी गराएको छ।
यसैगरी, कोल्हवी नगरपालिकास्थित बकैया खोलाबाट ठेकेदार कम्पनी सुवेदी निर्माण सेवा, तेलकुवाले २८ लाख ४९ हजार ८१९.३० घनफिट नदीजन्य पदार्थमध्ये एक तिहाइ अर्थात् सात लाख १२ हजार ४७२.५७५ घनफिट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न बाँकी रहेको जनाइएको छ। अब उत्खनन, सङ्कलन गर्न बाँकी परिमाण १० चक्के टिपरले एक हजार ६७७ टिम मात्र हुन्छ। सो ठेकेदार कम्पनीले पनि मापदण्डविपरीत कार्य गरेको पाइएकोले कारबाही गर्न कोल्हवी नपालाई पत्राचार गरिएको छ।
त्यसैगरी, निजगढ नगरपालिकास्थित तीनवटा खोलाको ठेक्का सकार गर्ने ठेकेदार कम्पनी हिमानी सप्लायर्स, निजगढले बकैया खोलाबाट २८ लाख ३६ हजार ५१२ घनफिट, लाल–भक्तलाल खोलाबाट २७ लाख ८७ हजार १२१ घनफिट र शक्ति खोलाबाट १३ लाख ८२ हजार १७६ घनफिट गरी जम्मा ७१ लाख ६ हजार ६१८ घनफिट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न पाउने ठेक्का सम्झौतामा उल्लेख छ।
तीनवटा खोलामध्ये बकैया खोलामा मात्र ठेकेदारले उत्खनन गरेको बाँकी उत्खनन गर्नुपर्ने नदीजन्य पदार्थ लाल–भक्तलाल खोला, शक्ति खोलाबाट उत्खनन गर्न सुुझाउँदै पत्रचार गरेको र मापदण्डविपरीत उत्खनन गरेबापत ठेकेदार कम्पनीलाई कानूनी कारबाही गर्न जिल्ला अनुगमन समितिले निजगढ नपालाई पत्राचार गरेको जिल्ला समन्वय अधिकारी चौधरीले बताए।
उत्खनन खुलेका खोलाहरूको थप कडाइका साथ निगरानी बढाइने जिल्ला समन्वय समिति बाराका प्रमुख साह र प्रजिअ शशिधर घिमिरेले बताए।