नेपाल पत्रकार महासङ्घले जेठ १३ गते बेलुकी सदस्यता टुङ्गो लगाएर नाम सार्वजनिक गरेलगत्तै देशभर सो विषयलाई लिएर शाखा र महासङ्घका पदाधिकारी सदस्यहरूले यसको विरोध गरेका छन्। नयाँ सदस्यता वितरण, नवीकरणलगायतका विषयमा महासङ्घले विधानसम्मत काम नगरेको भन्दै सोमवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस सङ्गठनले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। यसअघि सदस्यता टुङ्गो लाग्नुअघि नै हिजो नेपाल प्रेस युनियनले महासङ्घको कार्यालय तिलगङ्गामा तालाबन्दी गरेको थियो।
यता, सोमवार महासङ्घमा आबद्ध पाँचजना सचिव र चारजना सदस्य गरी नौजनाले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महासङ्घको सदस्यता टुङ्गो लगाएर मात्र निर्वाचन गर्न निर्वाचन समितिसँग आग्रह गरेको छ। २४ घण्टाभित्र माग पूरा नभए सोबाट सिर्जित समस्याको जिम्मेवार सम्बद्ध पदाधिकारीहरूले लिनुपर्ने चेतावनी दिइएको छ। विज्ञप्तिमा निर्वाचनको मिति नजीकिंदै जाँदा महासङ्घमा आबद्ध जिम्मेवार पदाधिकारीहरूले एकतर्फीरूपमा हस्ताक्षर गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति ध्यानाकर्षण भएको भन्दै सदस्यता शुद्धीकरणको नाममा सञ्चार कर्ममा क्रियाशील व्यक्तिहरूको नाम हटाइएको, नवीकरण नगरिएको र क्रियाशील नयाँ पत्रकारहरूलाई सदस्यता प्राप्त गर्ने अधिकारबाट वञ्चित राखिएको भन्दै महासङ्घको साझा चरित्र, विधि विधान र मर्मलाई लत्याउने काम भएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला शाखाले नचिनेका, पत्रकारितामा नरहेका, पुरानो सदस्यता सूचीमा नाम नभएका व्यक्तिहरूको नाम किर्ते गरी थपिएको, एउटै मापदण्डमा पर्ने सदस्यहरूमध्ये नियतवश कुनै सदस्यको नवीकरण नगरिएको र कसैलाई हटाइएकोप्रति विज्ञप्तिमार्फत आपत्ति जनाइएको छ। सचिवहरू गोविन्द चौलागाईं, दीपेन्द्र चौहान, सिर्जना अर्याल, नारायण सुन्दर किलम्बु, हेमकर्ण विक र केन्द्रीय सदस्यहरू माधव पौडेल, सुभाषप्रसाद साह, उत्तम विष्ट, शान्ताराम बिडारीले संयुक्त विज्ञप्ति जारी गरी महासङ्घको सदस्यता सार्वजनिकीकरणको विरोध गरेका छन्।
पर्सा शाखामा तालाबन्दी: यसैबीच, सदस्यता विवाद सम्बन्धलाई लिएर नेपाल पत्रकार महासङ्घ, पर्सामा समाजवादी प्रेस सङ्गठन, पर्साले तालाबन्दी गरेको छ। सङ्गठनका सचिव बृजलाल पासवानको सदस्यता नवीकरण नगरिएको र सदस्यका लागि आवेदन भरेका श्याम सर्राफको जिल्लाबाट सिफारिश भएकोमा सदस्यता प्रदान नगरिएको भन्दै आपत्ति जनाइएको छ। नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले पनि सदस्यता सार्वजनिक भएपछि विरोध जनाएका छन्। उनले शाखा सदस्य १४० जना रहेकामा १२१ जनाको नाम नवीकरणको लागि पठाइएकोमा सोबाट पनि काँटछाँट गरिएको र सदस्यता नभएका तीनजनाको नाम नवीकरण गरेर पठाइएको भन्दै आपत्ति जनाए। यसैगरी, उनले नयाँ सदस्यता सिफारिशमा पनि जिल्लाको सिफारिश अनुसार काम नभएको र केन्द्रले आपूmखुशी सदस्यता थप्ने काम गरेको भन्दै आपत्ति जनाएका छन्। उनले शाखाले ३० जनाको नाम सिफारिश गरेर पठाएकामा शाखाको सिफारिश नभएका छजनाको नाम थप भएको र सिफारिश गरी पठाइएमध्ये थुप्रैजनाको नाम हटाइएको भन्दै आपत्ति जनाए। उनले महासङ्घको विधान अनुसार सदस्यताको लागि मापदण्ड पूरा गरी सदस्यताको आवेदन दिनुपर्ने र सो आवेदन अनुसार सिफारिश नभएका आवेदकहरूले मात्र मधेस प्रदेश र केन्द्रमा उजूरी गर्नुपर्नेमा जिल्ला शाखामा आवेदन नै नभरेका व्यक्तिहरूलाई प्रदेशको सिफारिश र केन्द्र स्वयंले आपूmखुशी सदस्यता दिएको भन्दै आपत्ति जनाए। उनले नेपाल पत्रकार महासङ्घले गत स्थानीय चुनावमा उम्मेदवार बनेकाहरूको हकमा सदस्यता खारेज गर्न शुरूमा सिफारिस लिएको र पछि पराजित भएकाहरूको हकमा पुनः पत्रकारितामा सक्रिय भएकाहरूलाई सदस्यता दिने भनी गरेको निर्णय पनि ७६ जिल्लामा लागू भएको तर पर्सा जिल्लामा सो नियम लागू नगर्दा तीनजना पत्रकारमाथि अन्याय भएको बताए।
निर्वाचन प्रभावित हुने: नेपाल पत्रकार महासङ्घले यही जेठ २६ गते सबै शाखालाई निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्न निर्देशन गरेको थियो। यस प्रयोजनको लागि महासङ्घले निर्वाचन समिति पनि बनाइसकेको छ। तर सदस्यतासम्बन्धी टुङ्गो लगाउन ढिलो भएको र टुङ्गो लागेपछि देशभर विवाद सिर्जना हुँदा जेठ २६ गते हुने निर्वाचन प्रभावित हुने देखिन्छ। देशभरिबाट सदस्यता विवाद चुलिएको र थुप्रै शाखा अध्यक्षले यसको विरोध गर्दै निर्धारित समयमा यथास्थितिमा निर्वाचन गर्न नसकिने चेतावनी दिएका छन्।